माधव समूहको बैठकलाई काउन्टर दिँदै प्रधानमन्त्री ओलीले शुक्रवार बोलाए संसदीय दलको बैठक

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल-झलनाथ खनाल समूहबिच विवाद बढ्दै गइरहेको छ। दुवै समूहले गुटगत गतिविधिलाई तिब्रता दिएका छन् । शुक्रवार नेपाल समूहले ११ बजेका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । यता प्रधानमन्त्री ओलीले नेपाल समूहलाई काउन्टर दिँदै शुक्रवार नै दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक बोलाएका छन् ।

ओलीले बालुवाटारमा दलको बैठक बोलाएको संसदीय दलका उप-नेता सुवास नेम्वाङले जानकरी दिए। ‘बालुवाटारमा ३ बजेका लागि प्रधानमन्त्रीले बैठक बोलाउनुभएको हो,’ नेम्वाङले भने । चैत १८ गते बस्ने संसद बैठकका लागि रणनीति तय गर्न बैठक बस्न लागेको उनको भनाई छ । नेपाल समूहले शुक्रवार बिहान ११ बजे कलंकीमा केन्द्रीय कमिटीको बैठक बोलाइएको नेपाल समूहका नेता गंगालाल तुलाधरले जानकारी दिए ।

ओली समूहले नेपाल सहित उपध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्यहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई सोमवार चैत ९ गते स्पष्टिकरणको पत्र बुझाएको थियो। ३ दिन भित्र जवाफ पेश गर्न मन्दी महासचिव ईश्वर पोखरेलले उनीहरुलाई पत्र पठाएका थिए । उक्त पत्रको जवाफ दिन भन्दै मंगलवार देखि नै नेपाल समूहले छलफल तिब्र बनाएको छ। बुधवार दिनभर छलफल गरेको नेपाल समूहका नेताहरुले बिहीवार पनि आन्तरिक छलफललाई तिब्रता दिएका छन् ।

बैठकमा चालु संसद् अधिवेशनलाई कसरी प्रभावकारी बनाउने, संघीय सांसदका संसद्हरूलाई विकास निर्माणका योजना पेश गर्ने भन्ने विषयमा ‘आइडिया’ दिने र संसदीय दललाई एकढिक्का बनाउने विषयमा छलफल हुने बताइएको छ ।

यसअघि एमालेको संसदीय दलको बैठक चैत ७ गते बालुवाटारमै बसेको थियो। उक्त बैठकले संसदीय दलको विधान परिवर्तन गरी सांसदहरूलाई कारबाही गर्न सक्ने अधिकार दलका नेता एवं प्रधानमन्त्री ओलीलाई दिएको थियो। उक्त बैठकमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरू सहभागी भएका थिएनन्। शुक्रबार नै एमाले माधवकुमार नेपाल समूहले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।