मुख्यमन्त्री राई र पौडेलको पद जोगियो, अविश्वास प्रस्ताव फिर्ता हुने

काठमाडौं । प्रदेश १ र बागमती प्रदेश सरकारविरुद्धको अविश्वास प्रस्ताव फिर्ता हुने भएको छ । नेकपा एमाले माधव पक्षको हालै बसेको स्थायी समिति बैठकले प्रदेश १ र बागमती प्रदेश सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिने निर्णय गरेको हो । ‘हाम्रो पक्षको स्थायी समिति बैठक बसेर बागमती र प्रदेश १ मा दर्ता गरेको अविश्वास प्रस्ताव फिर्ता लिने निर्णय भएअनुसार फिर्ता गर्न लागिएको हो । प्रदेश एक स्थित एमाले संसदीय दलको बैठकले पनि अविश्वासको प्रस्ताव फिर्ता लिन एमाले सांसदहरूलाई एक साताको समय दिएको छ । एकदुई दिनभित्रै अविश्वास प्रस्ताव फिर्ता गर्दैछौ’, प्रदेश १ का अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका प्रदेश सभा सदस्य राजेन्द्रकुमार राईले रातोपाटीलाई जानकारी दिए ।

प्रदेश १ मा मुख्यमन्त्री शेरधन राई र बागमती प्रदेशमा डोरमणि पौडेलविरुद्ध अविस्वास प्रस्ताव दर्ता भएको थियो । यससँगै उनीहरुको पद तत्कालका लागि जोगिने देखिएको छ । प्रदेश १ मा पुस १२ र बागमती प्रदेशमा पुस १० दश गते एमालेको माधव पक्ष र माओवादी केन्द्रका सांसदहरु मिलेर अविश्वास प्रस्ताव दर्ता गरेका थिए । एमालेमा मुख्यमन्त्री राई र पौडेल प्रधानमन्त्री केपी ओली पक्ष भनेर चिनिन्छन् । अविश्वासको प्रस्ताव फिर्ता लिने मनस्थितिमा सांसदहरू पुगेको पूर्व मन्त्री समेत रहेका नेपाल पक्षीय सांसद जीवन घिमिरेले जानकारी दिए । ‘अविश्वासको प्रस्ताव फिर्ता लिने सरसल्लाह भएको छ,’ सांसद घिमिरेले भने ।

सर्वोच्च अदालतले एकीकरणपछिको नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षीय सांसदहरू अविश्वासको प्रस्ताव फिर्ता लिन सहमत भएका हुन् । नेकपा एकीकृत छँदा प्रचण्ड-नेपाल पक्षका सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।