ओलीले बोलाएको संसदीय दल र केन्द्रीय समिति दुवै बैठकमा नेपाल समूहको नजाने तर बामदेब गौतम भने सहभागी हुने

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शनिवार डाकेको केन्द्रीय समिति बैठकमा माधव नेपाल र झलनाथ खनाल पक्षका नेताहरु सहभागी नहुने बताएका छन् । सो समूहको शुक्रबार बानेश्वरमा बसेको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो ।

उनीहरुले विधान विपरित आफूखुसी केन्द्रीय समितिमा सदस्यहरु थप्ने निर्णय खारेज नभएसम्म बैठकमा नजाने जनाएका हुन् । त्यस्तै सो निर्णयलाई खनाल नेपाल समुहले एमालेको विधानबिपरित भएकोले अवैधानिक समेत भनेको छ । त्यस्तै खनाल नेपाल-समुहले नेकपा माओवादी केन्द्रबाट आएका २३ नेताहरुलाई केन्द्रय सदस्यमा मनोनयन गरेकोप्रति आपत्ति पनि जनाएको छ । अध्यक्ष ओलीले उक्त निर्णयहरु नसच्याएसम्म बैठक बहिस्कार गर्ने खनाल नेपाल समूहले रणनीति बनाएको छ ।

स्थायी समितिको बैठक पश्चात सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता भीम रावलले भने, फागुन २८ गते अवैध ढंगले भेला गरी विधान उल्लङ्घन गरिएकाले उक्त भेला खारेज नभएसम्म केन्द्रीय कमिटीको बैठक बस्न सकिन्न ।’ उनले दलको बैठक पनि दलको कार्यालय सिंहदरबार वा संसद् भवनमा आयोजना गरी उपयुक्त एजेण्डा र प्रक्रिया अवलम्बन गरिएमा विचार गर्ने जानकारी दिए । ओलीले बालुवाटारमा पार्टीको बैठक बोलाएर निजिकरण गरेको नेताहरुले आरोप लगाएका छन् ।

सर्वोच अदालतले नेकपालाई खारेज गरिदिएपछि नेकपा एमाले दुई खेमामा बिभाजित छ । फागुन २८ गते बरिष्ठ नेता माधव कुमार नेपालसहित उनी उहाँ निकटका नेताहरुको पद खोसेर अध्यक्ष ओलीले आफू निकटका नेताहरुलाई जिम्मेवारी दिएको खनाल नेपाल समूहका नेताहरुको आरोप छ ।

त्यस्तै नेकपा एमालेको अर्को उपाध्यक्ष जो एकताको लागि पहल गरिरहनु भएको छ; वामदेव गौतम भने भोली हुने केन्द्रिय समितिको बैठकमा सहभागी हुने भएको छ । ललितपुरमा अखिल नेपाल किसान महासंघको भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले बैठकबाटै पार्टीको समस्या समाधान गर्नुपर्ने भएकाले पार्टीको बैठकमा जान लागेको बताउनुभयो । गौतमले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहितका नेताहरूलाई पनि भोलिको बैठकमा आउनुपर्नेमा जोड दिनुभएको छ । बैठकमै केपी ओलीविरुद्ध लड्नुपर्ने उहाँको भनाइ छ ।

गौतम फागुन २८ गते बोलाइएको केन्द्रीय कमिर्टी बैठकम र बिहीबार बोलाइएको संसदीय दलको बैठकमा सहभागी हुनुभएको थिएन । उसो त २८ गतेको बैठकको निम्तो पनि गौतमलाई दिइएको थिएन ।

प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले शनिबार बिहान संसदीय दल र केन्द्रीय समितिको बैठक बोलाउनु भएको छ ।