अन्नपूर्ण पोस्टका २८ पत्रकारको सामूहिक राजीनामा
काठमाडौं । अन्नपूर्ण पोस्ट् दैनिकका २८ जना पत्रकारले सामूहिक राजीनामा दिएका छन् । व्यवस्थापनले पत्रिका बन्द गरी ‘डिजिटाइज’ गर्ने भन्दै राजीनामा मागेकाले काम गर्ने वातावरण नभएको भन्दै उनीहरूले राजीनामा दिएका हुन् । पत्रिका बन्द गर्न लागिएकाे भन्दै ब्यवस्थापन र सम्पादकले राजीनामा दिन दबाब दिएपछि दबाब स्वरुप सामुहिक अवकाशमा जाने निर्णय गरि पत्र बुझाएकाे उनीहरुले राजीनामा पत्रमार्फत् उल्लेख गरेका छन् । यस्तै उनीहरूले बन्दाबन्दी भए यतादेखिको बाँकी पारिश्रमिकको मागसमेत गरेका छन् ।
मंगलबार दिएको राजीनामा २८ जना पत्रकारको हस्ताक्षर छ । ‘दबाबपूर्ण अवकाश स्वरूप सामूहिक राजीनामा दिएको’ उल्लेख गरिएको राजीनामा पत्रमा श्रमजीवी पत्रकारसम्बन्धी ऐन अनुसार सेवा, सुविधा तथा न्यूनतम पारिश्रमिक दिनुपर्ने माग गरिएको छ । ‘कोरोनाकालदेखि काटिएको तलबको भुक्तानी गत दसैंतिहारमा प्राप्त गर्नुपर्ने एक महिनाको पारिश्रमिक बराबरको चाडपर्व भत्ता, श्रमिक कटौती गर्दा अमजीवी पत्रकारहरूलाई दिइनुपर्ने क्षतिपूर्ति, उपदान, सञ्चयकोष, उपचार खर्च, सञ्चित बिरामी बिदा र घर बिदाको रकमलगायत कानूनअनुसार प्रदान गर्नुपर्ने सम्पूर्ण सुविधासहित हिसाब-किताब गरी भुक्तानीको व्यवस्था मिलाइदिनु हुन अनुरोध गर्दछौं,’ राजीनामा पत्रमा भनिएको छ ।
२०७८ बैशाख ३ गतेदेखि लागू हुनेगरी दिइएको राजीनामामा बैशाख ३ पछि पनि प्राप्त गर्नुपर्ने सेवा सुविधा, रोकिएको तलब भत्ता, सञ्चयकोष तथा उपदान तोकिएको समयमा भुक्तानी नगरे उक्त समयावधिको तलब भत्ता नियमानुसार दिन माग गरिएको छ । उनीहरु एकदेखि २० बर्षसम्म अन्नपूर्ण पोस्ट्मा कार्यरत हुन् । यसअघि ६ जना पत्रकारले सामूहिक रुपमा अन्नपूर्ण पोस्ट् छाेडेका थिए । व्यवस्थापनले काेभिडकालमा दुर्गम ठाउँमा सरुवा गरेपछि पत्रकार महासंघकाे पहलमा समस्याकाे समाधान गरिएकाे थियाे ।
राजीनामा दिनेहरुमा विनोद न्यौपाने, यम विरही, रामकृष्ण अधिकारी, तिलक सापकोटा, प्रमोदकुमार गिरी, कृष्णप्रसाद मरासिनी, गोविन्द रेग्मी, खगेन्द्र भण्डारी, उमा विष्ट, सुनिता कार्की, सूर्यप्रसाद पाण्डे, अनन्त वाग्ले, दिनेश गौतम, अजवी पौडेल, लिलाराज अधिकारी, टिका बन्धन, कृष्णराज चौधरी, रामकृष्ण रानामगर, देवेन्द्र महत, सागर खड्का, सञ्जीव दाहाल, कपिल रोकाया, माधव छिनाल, उपेन्द्र अर्याल, विष्णु थापा, विनय बञ्जारा र दीपकराज घिमिरे छन् ।