भारत र इंग्ल्याण्ड टी–२० सिरिजका बाँकी खेलमा कोरोनाको कारण दर्शकलाई निषेध

काठमाडौं । भारत र इंग्ल्याण्ड बीचको टी–२० सिरिजको तेस्रो खेल आज हुँदै छ । भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने खेल बिना दर्शक खेलाइने भएको छ । यसअघिका खेलमा रंगशालामा दर्शकलाई प्रवेश गराइए पनि अब भने बाँकीका तीन खेल दर्शकले घरमै बसेर टिभी सेटमा हेर्नुपर्ने छ । गुजरातमा बढ्दो कोरोना संक्रमणका कारण त्यहाँको राज्य सरकारले स्टेडियममा दर्शकको प्रवेश रोक लगाएको छ । गुजरातमा पछिल्लो २४ घण्टामा कोरोनाका ९ सय संक्रमित फेला परेका छन् ।

पाँच खेलको सिरिजमा पहिले खेल इंग्ल्याण्डले जितेको थियो भने दोस्राे खेलमा भारतले जीत हाँसिल गरेकाे थियो । अन्य खेल १८ र २० मार्चमा हुनेछन् । टी–२० सिरिजपछि दुवै टोलीबीच एकदिवसीय सिरिज पुणेको महाराष्ट्र क्रिकेट स्टेडियममा हुनेछ । त्यहाँ पनि कोरोना संक्रमणको दर देशभरिमै उच्च रहेकाले दर्शक प्रवेशमा निषेध हुनसक्ने सम्भावना छ ।