प्राय यूरोपियन राष्ट्रहरुद्वारा अक्सफोर्ड-एस्ट्राजेनेका खोप प्रयोगमा रोक तर खोप लगाउन नरोक्न डब्लुएचओ आग्रह
एजेन्सी । रगत जमाउने समस्या सार्वजनिक भएपछि फ्रान्स, जर्मनी, स्पेन र इटलीले अक्सफोर्ट–एस्ट्राजेनेकाद्वारा उत्पादित कोरोना खोपको प्रयोगमा तत्कालका लागि रोक लगाएको छ । अक्सफोर्ड–एस्ट्राजेनेकोको खोप लिएका व्यक्तिमा ब्लड कल्ट बनेको खबर सार्वजनिक भएपछि युरोपका विभिन्न देशमा तत्कालका लागि खोप अभियान रोकिएको हो । पछिल्लोपटक सम्भावित ‘साइड इफेक्ट’ लाई मध्यनजर गरि नेदरल्याण्डस, जर्मनी, फ्रान्स, इटाली र स्पेनले कोरोना भाइरसविरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप कम्तीमा मार्च २९ सम्मका लागि बन्द गरेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्यूएचओ)ले भने एस्ट्राजेनेका खोपकै कारण रगत जम्ने समस्या भएकोबारे अहिलेसम्म कुनै प्रमाण फेला नपरेको दावी गरेको छ । डब्ल्यूएचओले यो पनि भनेको छ कि रगत जम्ने समस्याबारे धेरै तथ्यहरु आइरहे पनि कोरोना खोप अभियान जारी राख्नु जरुरी छ । यसबारे मंगलबार डब्ल्यूएचओको बैठक बस्दैछ । उसले भनेको छ, ‘कोरोना खोपको सम्भावित खराव असरबारे अनुसन्धान गर्नुपर्नेछ ।’
युरोपमा अक्सफोर्डको एस्ट्राजेनेका खोप लगाएका व्यक्तिहरुमा रगत जम्ने सम्बन्धी समस्याका थुप्रै विरामीहरु देखिएका छन् । एस्ट्राजेनेकाले पनि आफ्नो खोपकै कारण यस्तो समस्या भएको प्रमाणित गर्ने कुनै तथ्य नरहेको दावी गरेको छ । जर्मनीको स्वास्थ्य मन्त्रालयले सोमबार एस्ट्राजेनेका खोपको प्रयोग नगर्ने घोषणा गरेको थियो । देशको खोप नियमक निकाय पाउल इचलिच इन्स्टिच्युड (पीईआई)को सिफारिसमा मन्त्रालयले यो घोषणा गरेको हो ।
नर्वेमा खोप लगाएका वयस्कमा ब्लड कल्ट बनेको भन्ने खबर आएपछि यसअघि रिपब्लिक अफ आयरल्याण्डले पनि अक्सफोर्ड–एस्ट्राजेनेकाको खोपको प्रयोग तत्कालका लागि बन्द गरेको थियो । युरोपियन मेडिसिन एजेन्सी (इएमए) ले खोप र ब्लड कल्ट सम्बन्धमा अहिले अनुसन्धान गरिरहेको छ । यसअघि डेनमार्क, नर्वे, बुल्गेरिया, आइसल्याण्ड र थाइल्याण्डले पनि अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप लगाउन तत्कालका लागि बन्द गरेका थिए ।
डब्लुएचओका खोप सुरक्षा विज्ञहरुको बैठक मंगलबार बस्दैछ । सो बैठकमा अक्सफोर्ड–एस्ट्राजेनेकाको खोपका सम्बन्धमा छलफल हुनेछ ।
बेलायतसहित युरोपका विभिन्न देशमा अहिलेसम्म एक करोड ७० लाख भन्दा बढि मानिसले खोपको पहिलो डोज लिएका छन् । गएको हप्तासम्म ४० जनामा ब्लड कल्टको विकास भएको थाहा भएको छ ।