किमसँग छलफल गर्ने प्रयासमा बाइडेन प्रशासन, तर उत्तर कोरियाबाट आएन कुनै जवाफ

एजेन्सी । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग बार्ता गरेर एक किसिमको सफलता र प्रशन्सा कमाएको थियो त्यसैलाई नयाँ राष्ट्रपति जो बाइडेनले पनि निरन्तरता वा अबलम्बन गर्ने देखिएको छ । राष्ट्रपति जो बाइडनको प्रशासनले फेब्रुअरी महिनायता उत्तर कोरियाली सरकारलाई सम्पर्क गर्ने प्रयास गरेको अमेरिकी अधिकारीहरूले बताएका छन् । अमेरिकीले वार्ताका लागि धेरै प्रयास गरेपनि अहिलेसम्म प्योङ्याङबाट कुनै उत्तर प्राप्त हुन नसकेको बताइएको छ ।अधिकारीहरूका अनुसार बढ्दो तनावलाई रोक्न भन्दै वासिङ्टनले प्योङ्याङलाई विभिन्न माध्यमबाट पत्राचारको प्रयास गरेको थियो । उत्तर कोरियाको परमाणु कार्यक्रम र विभिन्न क्षेप्यास्त्र कार्यक्रमका कारण दुई देशबीच लामो समयदेखि असहज सम्बन्ध रहँदै आएको छ ।

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच तीन पटक वार्ता भएपनि उल्लेखनीय प्रतिफल प्राप्त हुन सकेको थिएन । वार्ताका माध्यमबाट कोरियाली प्रायद्वीपलाई आणविक निशस्त्रीकरण गर्ने ट्रम्प प्रशासनको नीतिले सफलता पाउन सकेको थिएन । प्योङ्याङसँग सम्पर्क गर्ने प्रयासअन्तर्गत ‘न्यूयोर्क च्यानल’ भनिने संयुक्त राष्ट्रसङ्घमा रहेको उत्तर कोरियाली नियोगलाई समेत प्रयोग गरिएको थियो।

रोयटर्सका अनुसार उत्तर कोरियासँग ‘कैयौँ पटक’ सम्पर्क गर्न खोजिए पनि १२ महिनाभन्दा बढी समयमा कुनै अर्थपूर्ण सम्पर्क स्थापना हुन सकेको छैन । बाइडेनले यसअघि नै उत्तर कोरियाका लागि आफ्नो नीतिको समीक्षा गर्ने घोषणा गरेका थिए। त्यस्तो समीक्षा अप्रिल महिनामा सार्वजनिक गरिने अपेक्षा गरिएको छ । उनले उत्तर कोरियामाथिको चर्को प्रतिबन्ध खुकुलो पार्नुअघि आणविक निशस्त्रीकरणमा जोड दिँदै आएका थिए ।