एमालेमा महासचिवबाहेक सबै पदाधिकारी खारेज, बादल बने वाग्मती प्रदेश इन्चार्ज, महाधिबेशन मंसिर २ गते देखी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाएका छन् । साथै माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादललाई वाग्मती प्रदेशको इन्चार्ज तोकेका छन् । शुक्रबार बालुवाटारमा बसेको एमालेको केन्‍द्रीय समिति बैठकले सातै प्रदेशका इन्‍चार्ज तोकेको हो । प्रदेश १ को इन्‍चार्जमा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, वाग्‍मती प्रदेशको इन्चार्जमा रामबहादुर थापा, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्जको जिम्‍मेवारी दिएको हो ।

गत पौष ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा संसद विघटन भएसँगै नेकपा ओली र प्रचण्ड–माधव समूहमा विभाजित भयो । यसको आधिकारिकता विवाद नटुंगिँदै २३ फागुनमा सर्वोच्चले नेकपा खारेज गर्दै एमाले र माओवादी ब्युँताउने फैसला सुनायो । त्यसको पाँच दिनपछि एमाले अध्यक्ष ओलीले आफू निकट नेताहरुको बैठक राखेर महासचिव ईश्वर पोखरेलबाहेक अरु पदाधिकारी नरहने निर्णय गराएका छन् ।

साथै पार्टी प्रवक्तामा प्रदीप ज्ञवाली तोकिएका छन् भने बाग्मती प्रदेशको इन्चार्जमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा बादल नियुक्त गरेका ओली समूहका एक नेताले जानकारी दिए । बादल समूहका २३ माओवादी नेताहरुलाई एमालेको केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय पनि भएको छ । साबिकको नेकपा दुई खेमामा विभाजित हुँदा ओलीतिर लागेका बादलसहितका नेताहरु माओवादी केन्द्र फर्किएका थिएनन् ।

त्यस्तै गरेर एमालेको दशौं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षको आज बसेको बैठकले महाधिवेशनको मिति तय पनि गरेको छ ।

असार २०७१ मा भएको एमालेको नवौं महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित भएका थिए । त्यसै महाधिबेसनमा उपाध्यक्षमा विद्या भण्डारी, बामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल, महासचिवमा ईश्वर पोखरेल, उपमहासचिवमा विष्णु पौडेल र घनश्याम भुसाल तथा सचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, भीम आचार्य, योगेश भट्टराई र गोकर्ण विष्ट चुनिएका थिए ।

३ जेठ २०७५ मा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बनेपछि ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष तथा विष्णु पौडेल महासचिव बने । नेकपामा बामदेवलाई उपाध्यक्ष मनोनित गरिएको थियो ।