अमेरिकामा नेपाली ट्याक्सी चालकलाई दुर्व्यवहार गर्ने युवती पक्राउ
एजेन्सी । अमेरिकामा एक जना नेपाली उबर (ट्याक्सी) चालक सुभाकर खड्कामाथि दुर्व्यवहार गर्ने युवती पक्राउ परेकी छन् । सान फ्रान्सिस्को प्रहरीले २४ वर्षीया मलेसिया किङलाई पक्राउ गरेकोे अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। उनलाई दुर्व्यवहार र लुटपाटको मुद्दा दर्ता गरिएको छ । गत सोमबार तीन युवतीले चालक खड्कालाई दुर्ववहार गरेको भिडियो भाइरल भएको थियो। खडकाले ती युवतीलाई मास्क लगाउन आग्रह गरेपछि ती युवतीहरूले दुर्व्यवहार गरेका थिए।
उनले मार्च ८ का दिन अमेरिकाको सान फ्रान्सिस्को बेभ्यू क्षेत्रबाट ती तीन यात्रुलाई गाडीमा चढाएका थिए। उनले ती मध्येकी एक युवतीलाई मास्क लगाउन आग्रह गरेपछि उनीहरुले अश्लील गाली र शारीरिक हमला समेत गरेका थिए । उनले खड्काको मोबाइल समेत खोसेकी थिइन् । यात्रुले मास्क नलगाएपछि सुभाकरले विनम्रतापूर्वक मास्क लगाएका कारण आफूले ट्रिप रद्द गर्न लागेको भन्दै उनीहरुलाई गाडीबाट ओर्लिन भनेका थिए । भिडियोमा ती युवतीहरूले उनलाई गाली गर्ने, उनको अगाडि मास्क हल्लाउने, उनलाई कुटपिट गर्नेदेखि उनको फोन चोर्ने प्रयास गरेका थिए ।
यो घटनापछि सुभाकर सहयोगका लागि गो फण्ड मी पेज सुरु गरिएको छ । हालसम्म ६४ हजार २ सय ८ डलर जम्मा भएको छ। सुभाकरले यो रकम नेपालमा पत्नी र ८ वर्षका छोरालाई पठाउने बताएका छन् ।