मेगन मार्कल र राजकुमार ह्यारीको आम्दानी वा कहाँबाट पैसा आउछ ?
एजेन्सी । यो हप्ता ब्रिटिश राजकुमार ह्यारी र उनको पत्नी मेघनको अन्तर्बाताले संचार जगत निकै तातेका छन । अन्तर्बातामा उनीहरुले भनेका कुराहरुमा पक्ष बिपक्ष दुबै किसिमका धारणाहरु मनिसहरुले ब्यक्त गरेका छन । बिशेष गरेर रङ्गभेदको कुरा र राजकुमार ह्यारीले अप्रतक्ष्य अनि घुमाउरो पाराले आम्दनीको लागि नेटफ्लिक्स र स्पटिफाइ कार्यक्रम गर्नुपरेको कुरा ब्यक्त गरेका थिए । यसै सन्दर्भमा बिबिसीनेपाली सेवाले राजकुमार ह्यारी र मेघनको आम्दनीबारे वा उनीहरुलाई कहाँबाट पैसा आउछ ? भन्ने सन्दर्भमा केही कुराहरु उल्लेख गरेका छन ।
ब्रिटिश राजकुमार ह्यारीले राजकीय जिम्मेवारीबाट पन्छिएर श्रीमती मेगन मार्कलसँग क्यालिफोर्निया सरेपछि परिवारले पैसा दिन बन्द गरेको बताएका छन् । उसोभए उनीहरूले अहिले कसरी आम्दानी गर्छन् त? के राजकुमार ह्यारी र मेगनले राजपरिवारबाट पैसा पाउँछन्? सन् २०२० को ज्यानुअरीमा ड्यूक र डचिस अफ ससिक्सले राजकीय जिम्मेवारीबाट पन्छिएर आर्थिक रूपमा आत्मनिर्भर हुने बताएका थिए । त्यो बेला नयाँ सहमतिअनुसार यो दम्पत्तिले केही समय ह्यारीका पिताबाट पैसा पाउने बताइएको थियो । त्यो पैसा डची अफ कोर्न्वल भनिने सम्पत्ति र लगानीबाट वा राजकुमार चार्ल्सको व्यक्तिगत सम्पत्तिबाट वा दुवैबाट कहाँबाट आउने हो स्पष्ट थिएन ।
मार्च २०२० भन्दा एक वर्षअगाडि राजकुमार चार्ल्सको खाताबाट राजकुमार ह्यारी र मेगन एवं राजकुमार विलियम र केटको गतिविधिका लागि ५६ लाख पाउन्ड खर्च भएको देखिन्छ । तर राजकुमार ह्यारीले एउटा टीभी अन्तर्वार्तामा ओप्रा विन्फ्रीलाई राजपरिवारले त्यसपछि पैसा दिन लगभग बन्द गरेको बताएका छन् । उनले पिताबाट आउने पैसाको कुरा गरेको कि ब्रिटिश नागरिकको करबाट सञ्चालित राजकोषबाट आउने पैसाको कुरा गरेको भन्ने स्पष्ट छैन । राजकुमार चार्ल्सको सन् २०२० को मार्चयताको खर्च विवरण सार्वजनिक गरिएको छैन र उनको कार्यालयले यसबारेमा टिप्पणी गर्न चाहेन ।
के ह्यारी र मेगन सम्पन्न छन् ?
राजकुमार ह्यारी र मेगन दुवैसँग राम्रै पैसा भएको अनुमान गरिन्छ । राजकुमार विलियम र राजकुमार ह्यारीले आमा राजकुमारी डायनाको एक करोड १३ लाख पाउन्डको ठूलो अंश पाएको मानिन्छ । ह्यारीले अमेरिका सरेको विषयमा बोल्दै विन्फ्रीलाई “मैले आमाले मलाई छोडेको पैसा पाएको र त्योबिना यो सबै गर्न नसकिने” बताएका थिए । बीबीसीका शाही संवाददाता निक विचेलका अनुसार राजकुमार ह्यारीलाई उनकी जिज्यूआमाले दशौँ लाख पाउन्ड छोडेको बताइन्छ । महारानी एलिजाबेथको आमाको सन् २००२ मा मृत्यु भएको थियो ।
आफ्नो अभिनय जीवनमा मेगनले सूट्स नामक टीभी शृङ्खलामा काम गरेबापत प्रत्येक एपिसोडका लागि ५० हजार डलर पाउने विवरण सार्वजनिक भएको थियो । उनको आफ्नो ब्लग पनि थियो र क्यानडाको एउटा कम्पनीका लागि फ्याशन डिजाइन पनि गर्छिन् ।
ह्यारी र मेगनको अन्य आय के छ ?
राजपरिवारको कार्यकारी सदस्य नरहेका कारण राजकुमार ह्यारी र मेगन आम्दानीमूलक काम गर्न स्वतन्त्र छन् । उनीहरूलाई विन्फ्रीको अन्तर्वार्ताका लागि पैसा तिरिएको थिएन तर उनीहरूले नेटफ्लिक्स र स्पटिफाईसँग सम्झौता गरेको थिए जसबाट उनीहरूलाई लाखौँ डलर आम्दानी हुने बताइएको छ । उनीहरूले आर्चवेल नामक संस्था बनाएका छन् जसको गैरनाफामूलक कामका साथै नाफामूलक काम पनि छ ।
उनीहरूको सुरक्षाका लागि कसले पैसा तिर्छ ?
उनीहरू यूकेमा हुँदा उनीहरूलाई नगर प्रहरीले सुरक्षा प्रदान गर्थ्यो। त्यसको खर्च सार्वजनिक गरिएको छैन । क्यानडा सरकारले उनीहरूलाई सुरक्षा प्रदान गर्न बन्द गर्ने निर्णय गरेपछि उनीहरू क्यानडाबाट अमेरिका सरे । त्यहाँ लकडाउनको पहिलो केही महिनाहरू अमेरिकी अर्बपति तथा मिडिया मालिक टेलर पेरीले घर र सुरक्षाको खर्च दिएको उनीहरूले बताएका छन् ।
विन्फ्रीले उनीहरू पैसाको पछि लागेको आरोपका बारेमा सोधेको प्रश्नमा राजकुमार ह्यारीले नेटफ्लिक्स र स्पटिफाईसँगको सम्झौताबारे पूर्वयोजना नरहेको तर आवश्यक परेको बताए। “मेरो तर्फबाट मलाई चाहिएको कुरा भनेको सुरक्षाका लागि र मेरो परिवार सुरक्षित राख्नका लागि पुग्ने पैसा हो,” ह्यारीले बताएका थिए।
राजपरिवारमा रहँदा उनीहरूको खर्च कसरी चल्थ्यो ?
राजकीय उत्तदायित्व परित्याग गर्नुअघि उनीहरूको ९५ प्रतिशत खर्च पिता राजकुमार चार्ल्सबाट आउँथ्यो । सन् २०१८ देखि सन् २०१९ सम्म ५० लाखभन्दा केही बढी रहेको त्यो पेसाले उनी र राजकुमार विलियम दम्पतीको सार्वजनिक जिम्मेवारी र केही व्यक्तिगत खर्च चल्थ्यो । बाँकी पाँच प्रतिशत करदाताको पैसाबाट निर्मित राजकोषबाट उपलब्ध हुन्थ्यो । यो कोष सरकारले राजपरिवारको आधिकारिक जिम्मेवारी र राजदरबारको खर्चका लागि दिने पैसा हो । प्रतिवर्ष राजकोषमा ब्रिटिश सरकारले आठ करोड ५९ लाख पाउन्ड दिने गर्छ। यो पैसामा क्राउन स्टेट भनिने व्यावसायिक सम्पत्तिको नाफाबाट पनि आउँछ ।
क्राउन स्टेटअन्तर्गत लन्डन, स्कटल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डमा सम्पत्तिहरू छन् जसलाई एउटा स्वतन्त्र संस्थाले व्यवस्थापन गर्छ। तिनको नाफा ब्रिटिश ढुकुटीमा जान्छ । त्यसबाट १५ देखि २५ प्रतिशत सरकारले राजकोषमा हालिदिन्छ । क्राउन स्टेटको सम्पत्ति महारानीको व्यक्तिगत सम्पत्ति होइन। त्यो राजसंस्थाको सम्पत्ति हो ।
स्रोत- बिबिसी