पोखरा लगायत गण्डकी क्षेत्रमा हावाहुरीसहितको असिना पानीले बालिनालीको क्षति
गण्डकी । हावाहुरीसहितको असिना पानीका कारण आज तनहुँको शुक्लागण्डकी नगरपालिका–९ ढोरफिर्दी र आसपासका क्षेत्रमा खेतीबालीमा क्षति पुगेको छ । दिउँसो ३ः०० बजेतिर असिनासहित, हावाहुरी र पानी आएपछि कृषकले लगाएको गोड्ने बेला भएको मकै, तरकारी बालीका साथै वर्षात्को समयलाई लक्षित गरी लगाइएका घिरौँला, करेला, काँक्रो, फर्सी लौका, चिचिन्डोलगायतका लहरेबालीका बिरुवा समेतमा क्षति पुगेको स्थानीयवासी उमादेवी भट्टराईले जानकारी दिए ।
असिनाका कारण फुल्दै गरेका सुन्तला, निबुवा, कागतीलगायतका बोट बिरुवालाई पनि क्षति पुर्याएको उनले बताए । असिनासँगै केही बेर मेघगर्जनका साथ पानी परेपछि दुलेगौडा हुँदै साँखे जाने मोटरबाटोअन्तर्गत ढोरफिर्दीस्थित बराहखोलामा पानी बढेपछि झण्डै एक घण्टा सवारीसाधन आवतजावत पनि ठप्प भएको अर्की स्थानीय सुष्मा पोखेरेलले जानकारी दिए । उनका अनुसार खोलामा पानी बढेपछि विद्यार्थी लिएर फर्केका स्कूल बससमेत झण्डै एक घण्टासम्म रोकिनुपरेको थियो ।
ठूलो पानी पर्नुका साथै वर्षात्को समयमा बराह खोला बढ्दा सवारीसाधन नै रोकिनुपर्ने समस्याबाट सर्वसाधारण समय–समयमा ग्रसित बन्ने गरेको उल्लेख गर्दै उनले यसतर्फ सम्बन्धित निकायको ध्यान पुग्नुपर्ने आवश्यकता औँल्याए । दुलेगौँडाबाट ढोरफिर्दी हुँदै मान्द्रे, छब्दीदेउराली, साँखे, राइपुर, मग्यम चिसापानी, सालडाँडालगायतका स्थान जाने बाटो यही भएका कारण बराहखोलामा तत्काल मोटरेबल पुल हाल्नुपर्ने देखिएको स्थानीयवासीले बताए ।
पोखरामा परेको असिना पानीले तरकारी बाली र फलफुलमा ठूलो क्षति
पोखरा । पोखरा परेको असिना पानीले तराकारी र फलफुल खेतीमा ठूलो क्षति पुरयाएको छ । बुधबार दिउँसो परेको असिना पानीले पोखरा र आसपासका क्षेत्रमा कृषकहरुले खेतबारीमा लगाइएको तरकारी बालीमा क्षति पुरयाएको हो । करिव एकघन्टा परेको असिना पानीले पोखरा–१७ को बिरौटा, छोरेपाटन र २२ को पुम्दीभूम्दी लगायतको क्षेत्रमा खेतबारीमा लगाएको तरकारी र फलफुल खेतीमा ठुलो क्षती पुगेको स्थानीयले जानकारी दिएका छन् ।
असिना पानीले तरकारी खेती बन्दा, काउली, काक्रो, घिरोलाका विरुवा, फुल फुलेका सुन्तला, एभोगाडो लगाएतमा क्षती पुगको जानकारी आएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । उनले ठाउँ ठाउँमा असिनाले ठुलो क्षती पुगेको भन्दै किसानहरुले गुनासो गरेको बताए । कति क्षती भयो भन्ने विवरण संकलन गर्न सुरु भएको उनको भनाइ छ । पोखरा २२ पुम्दीभुम्दीका किसान उमाकान्त बरालले आफुले ७ रोपनी क्षेत्रमा लगाएका तरकारी बाली असिनाले निमेट पारेको बताए ।
बरालको महोनस्वारा कृषि फर्ममा लागएको बन्दा, काउली, एक हजार बोट खुसार्नी, काँक्रो, आधामा लगाएको मुला, आधारोपनीमा लगाएको धनिया, सबैका तरकारी खेतीमा क्षती पु¥याएको बताए । उनले केहीसमय पहिले लगाएर झाँङ्गीदै गरेको तरकारी असिना पानीले ध्वस्त बनाएको बताए । कृषक बरालले एक वर्ष पहिले वीमाका लागि गएपनि निकै दुःख दिए पछि तरकारी खेतीका लागि विमा नगरिएको बताए । कृषि महाशाखा प्रमुख कडरियाले महानगरले असिनाबाट तराकारी जोगाउन कृषकलाई जाली वितरण गरीरहेको बताए ।
प्री मनसुन सुरु भएपछि पहिलो वर्षा भएको जल तथा मौसम कार्यालयले जनाएको छ । प्री मनसुन मार्च १ देखि सुरु भएर जुन ९ सम्म जारी रहने जल तथा मौसम कार्यलय पोखराका प्रमुख राजारामप्रसाद ढकालले जानकारी दिए । प्री मनसुनको अवधिमा वायुमण्डलमा अस्थिरता हुने भएकाले दिउँसोमा घाम लाग्ने र बेलुकीपख पानी पर्ने सम्भावना रहन्छ ।