“जातको प्रश्न” कार्यक्रम वर्ल्ड जस्टिस च्यालेञ्जको उत्कृष्ट ३० प्रतिस्पर्धीमा छनोट

समता फाउण्डेसनले निर्माण गरेको टेलिभिजन संवाद ‘जातको प्रश्न’ वर्ल्ड जस्टिस च्यालेञ्ज २०२१ को अन्तिम ३० प्रतिस्पर्धीमा छनोट भएको छ । ‘वर्ल्ड जस्टिस च्यालेञ्ज२०२१: एड्भान्सिङ द रूल अफ ल इन अ टाइम अफ क्राइसिस’ मा विश्वका ११४ देशबाट ४२५ भन्दा धेरै आवेदन परेका थिए ।

कोभिड- १९ जस्तो संकटको समयमा विधिको शासनको सुरक्षा र सम्वर्द्धन गर्ने असल अभ्यास तथा प्रभावकारी अभियान र नीतिको पहिचान, सम्मान र प्रवर्द्धन गर्नका लागि वर्ल्ड जस्टिस प्रोजेक्टले वार्षिक रूपमा यो विश्वव्यापी प्रतिस्पर्धा आयोजना गर्दछ । सन् २००६ मा अमेरिकन बार एसोसिएसनको अभियानका रूपमा स्थापना गरिएको वर्ल्ड जस्टिस प्रोजेक्ट सन् २००९ देखि विधिको शासन प्रवर्द्धन गर्ने गैरनाफामुखी संस्थामा रूपान्तरण भएको हो । संस्थाको कार्यालय वाशिङ्टन डिसी, सियाटल, सिंगापुर र मेक्सिको सिटीमा छ ।

कोभिड १९ र बन्दाबन्दीको विषम परिस्थितीमा समता फाउण्डेशनले टेलिभिजन कार्यक्रम जातको प्रश्न निर्माण गरेको हो । लोकप्रिय अभिनेता राजेश हमालले सञ्चालन गरेको १२ अंकको जातको प्रश्न कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको थियो । कार्यक्रमले जात व्यवस्थासम्बन्धी जटिल र गम्भीर प्रश्न उठाएको छ ।