मंगल ग्रहमा पहिलो पटक गुड्यो पर्सिभिअरन्स्
एजेन्सी । दुई साता अघी मंगलग्रहमा सफल अबतरन गरेको पर्सिभिअरेन्स यान गुडाउन सुरु गरेको छ । अमेरिकी अन्तरिक्ष निकाय नासाको पर्सिभिअरन्स्को यानले आफ्नो पाङ्ग्रा निकालेर मङ्गल ग्रहको सतहमा पहिलो परीक्षण यात्रा शुरु गरेको छ । शुक्रवार पृथ्वीमा डाउनलोड गरिएका तस्बिरले सो रोबोटले छोटो यात्रा गरेको सङ्केत दिएको हो । एक टन वजन भएको रोबोट मङ्गल ग्रहको सतहमा ओर्लिएको दुई साता पूरा भइसकेको छ ।
यो दुई सातामा वैज्ञानिकहरूले सो यानका थुप्रै प्रणालीलाई सक्रिय बनाएका छन । पर्सिभिअरन्स्ले मङ्गल ग्रहमा कुनै बेला भएको हुन सक्ने जीवनको प्रमाण खोज्नेछ । त्यो खोजका लागि यसले मङ्गल ग्रहको एक वर्ष (पृथ्वीको लगभग दुई वर्ष) मा १५ किलोमिटर यात्रा गर्ने आशा गरिएको छ । वैज्ञानिकहरूले कुनै बेला ठूलो ताल रहेको ठानिएको क्षेत्रमा प्रागऐतिहासिक जीवनको अवशेषको खोजीमा विभिन्न चट्टानको अध्ययन गर्ने प्रयास गर्नेछन् । तर चट्टानहरू खोतलेर हेर्नु अगाडि पर्सिभिअरन्स्ले विभिन्न परीक्षणहरू गर्नेछ ।
यस क्रममा त्यसले एउटा सानो हेलिकप्टरको उडान पनि गराउनेछ । आगामी केही साता उक्त यानले हेलिकप्टर निकालेर राख्न उपयुक्त स्थानको खोजी गर्नेछ । अहिले सो हेलिकप्टर यानभित्र तलपट्टिको भागमा रहेको बिबिसीले जनाएको छ ।