अविश्वास प्रस्तावबारे कांग्रेस संसदीय दल अनिर्णित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक अनिर्णित बनेको छ । शुक्रवार बसेको कांग्रेस संसदीय दलको बैठकमा अविश्वासको प्रस्ताव लैजानेबारे घनिभूत छलफल भएको तर कुनै निष्कर्ष ननिस्किएको सचेतक पुष्पा भुसालले लोकान्तरलाई बताइन् ।

‘सर्वोच्च अदालतले गरिदिएको संसद पुनःस्थापनालाई स्वागत गर्ने निर्णय गरियो,’ भुसालले भनिन्, ‘अविश्वासको प्रस्ताव लैजानेबारे गम्भीर छलफल भयो तर त्यससम्बन्धमा कुनै निर्णय भएको छैन ।’ संसदीय दलको बैठकले कोरोना खोप सहज रूपमा उपलब्ध गराउन सरकारको गम्भीर ध्यानाकर्षणसमेत गराएको भुसालले बताइन् । बैठकमा सभापति शेरबहादुर देउवाले कानूनी रूपमा नेकपा विभाजन भइनसकेकाले सोचेर कदम चाल्नुपर्ने बताएका थिए ।