‘रेलको बाटो’ सुटिङका लागि फोक्सुण्डो पुगेको कलाकारलाई हेलिकप्टरबाट उद्धार
डोल्पा । चर्चित गीत ‘रेलको बाटो’को छायांकनका लागि डोल्पाको शे–फोक्सुण्डो ताल पुगेका एक जनालाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । भिडियो छायांकनका लागि पुगेका कलाकार अमृत सुनार लेक लागेर बिरामी परेपछि सेनाको हेलिकप्टरबाट नि:शुल्क उद्धार गरी सुर्खेत लगिएको हो ।
केही दिन अघिमात्रै काठमाडौंबाट डोल्पा पुगेका सात जनामध्ये अधिकाशंलाई ताल पुग्दासम्म लेक लाग्ने समस्या देखिएको थियो। सुनारलाई श्वास फेर्न एकदमै गाह्रो भएपछि हेलिकप्टरबाट उद्धार गरिएको स्थानीय कलाकार लक्ष्मण देवकोटाले जानकारी दिए । निकुञ्ज सुरक्षार्थ बसेका सेनालाई खबर गरेर उद्धारका लागि हेलिकोप्टर बोलाइएको देवकोटाले बताए ।
कर्णालीको परिवेशमा आधारित ‘रेलको बाटो’ गीतको अडियो केही दिनअघि युट्युबमार्फत सार्वजनिक भएको थियो। लेखराज गिरीको शब्दमा रहेको गीतमा सुरज पण्डितको स्वर र संगीत छ भने चिरञ्जीवी सापकोटा सरस्वती खत्री र लक्ष्मण देवकोटाको अभिनय छ।