४० करोड राजश्व छलीको अभियोगमा तीन फर्मविरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दायर
काठमाडौं । वीरगञ्ज र विराटनगरका तीन व्यवसायी फर्मविरुद्ध राजश्व अनुसन्धान विभागले ४० करोड राजश्व छलीको अभियोगमा मुद्दा दायर गरेको छ । विभागले विराटनगरका सुरेशकुमार राठी, वीरगञ्ज उपमहानगरपालिका–१० स्थित रजनिश ट्रेडिङ कन्सर्न तथा डल्फिन ट्रेडर्स प्रालिका संचालक रजनिशकुमार गुप्ताविरुद्ध आइतबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
विभागले राठीलेविस्द्ध राजस्व छलीको अभियोगमा १५ करोड ३६ लाख रूपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको जनाएको छ । विभागले वास्तविक बिक्री आम्दानीभन्दा घाटा देखाइ मूल्य अभिवृद्धि कर, लाभांश कर र आयकर छलेको अभियोगमा मुद्दा दायर गरेको हो ।
राठीले भेइकल एन्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टममा विवरण प्रविष्टि नगरी कारोबार गर्ने गरेको पनि विभागले जनाएको छ । रजनिश ट्रेडिङ कन्सर्न तथा डल्फिन ट्रेडर्स प्रालिका संचालक तथा प्रोप्राइटर गुप्ताले राजस्व चुहावट गरेको अभियोगमा २५ करोड रूपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ । उनले भन्सार चोरी पैठारी गरी भन्सार, मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको देखिएको विभागले जनाएको छ ।
तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलका नायब सुब्बा नरेन्द्र चन्दसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । चन्दले सेवाग्राहीलाई फर्म दर्ता प्रमाणपत्र लिनका लागि लेखापढी काम गर्ने रामबाबु दाहाललाई भेट्नु भन्दै रु आठ हजार घुस दिन लगाएको पाइएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार आयोगले अर्जुन सुवेदी, नरेन्द्रबहादुर चन्द र रामबाबु दाहालविरुद्ध नै समान बिगो कायम गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगले सप्तरी, कञ्चनरुप नगरपालिका–४ नापी कार्यालयका निमित्त कार्यालय प्रमुख हरिशचन्द्र ठाकुर र लेखनदास अरुणकुमार यादव विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सेवाग्राहीको जग्गा कित्ताकाट गर्ने कामका लागि रु १५ हजार घुस लिएको आरोप लागेको छ ।