‘कबड्डी’को अन्तिम सिक्वेल ‘कबड्डी ४’ बन्ने निर्देशक गुरुङ
काठमाडौं । सुपरहिट फिल्म ‘कबड्डी’को चौँथो सिक्वेल पनि निर्माण हुने भएको छ । रामबाबु गुरुङको निर्देशन रहेको फिल्मको तेस्रो सिक्वेलको रुपमा ‘कबड्डी कबड्डी कबड्डी’ गतवर्ष आएको थियो । शुक्रवार निर्देशक गुरुङले सामाजिक सञ्जाल फेसबुकमा फिल्मको एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरेका हुन् । पोस्टरमा फिल्मको उप शीर्षक ‘द फाइनल म्याच’ समेत राखिएको छ ।
बाँसुरी फिल्मसले प्रोडक्सनले फिल्म निर्माण गर्नेछ । गुरुङको उक्त पोस्टबाट केही कुरा खुलासा हुन्छ । जस्तो: फिल्मको टाइटल, अन्तिम श्रृंखला र रिलिज मिति । नेपाल प्रेससँग कुरा गर्दै अभिनेता दयाहाङ राईले पनि कबड्डी चार बनाउने तय भएपनि रिलिज टुंगो नलागेको बताएका थिए । उनले स्क्रिप्टमा काम हुँदै गरेको जनाएका छन् । फिल्म आउँदो वर्ष छायांकनमा जाने र आउने वर्ष नै रिलिज हुने भएको छ ।
निर्देशक गुरुङले ‘कबड्डी’को कथालाई अब टुङ्ग्याउन यो सिक्वेल बनाउन लागेका हुन् । अहिलेसम्मका शृङ्खलामा जोडिएका सबै कलाकार ‘कबड्डी ४’मा अटाउने योजनामा निर्देशक गुरुङ रहेका छन् । ‘कबड्डी’को फष्टपार्टमा दयाहाङ राई, निश्चल बस्नेत र रेश्मा गुरुङ मुख्य भूमिकामा थिए । दोस्रोमा निश्चलको ठाउँमा सौगात र तेस्रोमा भने विल्सन विक्रम राई, कर्मा र उपासना सिंह ठकुरी जोडिएका थिए ।
फिल्मको छायाँकन २०७८ वैशाखबाट सुरु गर्ने योजना निर्देशक गुरुङको रहेको छ । कबड्डी श्रृंखला निकै रुचाइएको नेपाली फिल्म हो । फिल्म भने दसैँमा प्रदर्शनमा आउनेछ ।