नायक पल शाहसँगको बिवाद सहमतिमा टुंगियो

मोरङ । नेपाल चलचित्र महासंघ प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधान, नायक पूर्णविक्रम शाह पल शाह र उनका सहायक कृष्ण जोशीबीच सहमति भएको छ । महासंघका अध्यक्ष प्रधानले ईलाका प्रहरी कार्यालय धरानमा शाह र उनका सहायक जोशीविरुद्ध उजुरी दिएका थिए। बुधबार राती खाना खाने क्रममा नायक शाहको निर्देशनमा सहायक जोशीले प्रधानउपर आक्रमण गरेको आरोप रहेको थियो । सोही घटनालाई लिएर प्रहरीले आक्रमण गर्ने जोशी र नायक शाहलाई छलफलका लागि शुक्रबार प्रहरी कार्यालयमा बोलाएको थियो ।

दिउँसो १ बजेका लागि छलफल तय गरिएको भएपनि नायक शाह बेलुका पौने ७ बजेमात्र प्रहरी कार्यालय पुगेका थिए। छलफलका लागि सुरुमा प्रहरी कार्यालय जान नमानेका शाहले सहायक जोशीलाई पठाएका थिए । पीडित प्रधानले नायक शाह विना छलफल हुन नसक्ने जनाएपछि शाह राती कार्यालय पुगेका थिए। प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज ओलीले बेलुका प्रधान, शाह र जोशी तीनै जनाबीच लिखित सहमति भएको जानकारी दिए। तिनै जना चलचित्र क्षेत्रबाट भएको जनाउँदै आआफ्नो कमजोरी स्वीकार्दै सहमति भएको ओलीको भनाई छ । पीडित प्रधानका अनुसार नायक शाहले असमझदारीका कारण घटना भएको हुँदा मिलेर अघि बढौं भन्दै प्रस्ताव गरेका थिए ।

उनले भने, ‘घटनाका क्रममा मैलेपनि केही कडा शब्द बोले होला । यतिसम्म कुरा राम्रै थियो । तर, अन्त्यमा सहायक जोशीले एक्कासी आक्रमण गरेपछि घटना प्रहरी कार्यालयसम्म पुगेको हो । तर, अहिले एकअर्काबीच भद्र सहमति गरेका छौँ ।’