कार दुर्घटनापछि टाइगर उडको खेलजीवन अनिश्चित

कार दुर्घटनामा परेका गल्फर टाइगर उड पूर्ण रूपले स्वस्थ हुन १४ महिना लाग्ने चिकित्सकको भनाइ

एजेन्सी । कार दुघर्टनामा परेका चर्चित गल्फर टाइगर उड पुनः सक्रिय गल्फ कोर्समा फर्कन सक्ने सम्भावना कम देखिएको छ । मंगलबार उड सवार गाडी लस एन्जलसको हिल साइडमा दुघर्टना भएको थियो । उड नराम्रोसँग घाइते भएका छन् । उडको दायाँ घुँडामा रगत जम्नुका साथै हड्डी भाँचिएको चिकित्सकले जनाएका छन् । यो अवस्थाबाट सक्रिय गल्फ खेल्ने सम्भावना अन्त्यन्तै कम रहेको चिकित्सकले दाबी गरेका छन् । उनको चोट निको हुन धेरै समय लाग्नेछ । ४५ वर्षीय गल्फर उडको पहिला नै ढाड दुख्ने समस्या छ । अब घुँडाको शल्यक्रियापछि उनको रिकोभर केवल ७० प्रतिशत मात्र रहेको चिकित्सकले बताए ।

उपचारमा संलग्न डाक्टर अनिश महाजनले उडको घुँडा पुरानै अवस्थामा ल्याउन शल्यक्रिया गर्नुपर्ने बताएका छन् । ‘यो अवस्थामा उडको शल्यक्रिया जटिल देखिएको छ, सफल शल्यक्रिया भए पनि उड खेलमा फर्कन सम्भावना न्यून नै देखेको छु,’ डाक्टर अनिसले भने, ‘गल्फ खेलमा मुख्य गरी घुँडा र शरीरको पछाडिको भागमा बढी दबाब हुन्छ ।’

यी दुवै समस्या भएका खेलाडी लामो समयसम्म गल्फ कोर्समा रहन सक्दैनन् । वर्तमान अवस्थामा उडले लामो समयसम्म घुँडा र ढाड दुख्ने समस्या झेल्नुपर्ने अर्थोपेडिक ट्रमाका प्रमुख डाक्टर म्याल्कन स्मिथले बताएका छन् । ‘शरीरको तल्लो भाग चोटग्रस्त वा शल्यक्रिया हुँदा यसले भविष्यमा समस्या दिइरहेको हुन्छ, अझ शरीरको तल्लो भाग नराम्रोसँग बिग्रदा सामान्य अवस्थामा आउन धेरै समय लिन्छ,’ अर्थोपेडिक प्रमुख स्मिथले भने, ‘हामीले यही समस्या उडमा देखेका छौँ ।’ यस्तो किसिमको बिरामी पूर्ण निको हुन्छ भन्ने दाबी गर्न सकिँदैन ।’

दायाँ घुँडाको हड्डी टुक्रा भएकाले उडको रिकोभरी कम्तीमा १४ महिना लाग्ने स्मिथको भनाइ छ । ‘उमेर र गम्भीर चोटकै कारण उड पुनः गल्फ कोर्समा स्विङ गर्न सक्छन् भन्ने आशंका छ,’ स्थिमले भने, ‘यदि गल्फ कोर्समा फर्किए पनि उड पुरानै लयमा खेल्न सक्दैनन् ।’