बीबीसी मास्टरसेफका पहिलो रनरअप सन्तोष शाहलाई काठमाडौंमा भव्य स्वागत
काठमाडाैं । बीबीसीको चर्चिट रियालिटी सो मास्टरसेफ यूकेमा फस्ट रनरअप उपाधि हासिल गरेका सन्तोष शाह काठमाडौं आइपुगेका छन् । बिहीबार बिहान उनी त्रिभुवन विमानस्थल ओर्लिएका हुन् । त्रिभुवन विमानस्थलमा उनलाई भव्य स्वागत गरिएको छ । बाजागाजा र कुकको पोशाकमा सहभागीहरुले उनलाई एयरपोर्टमा स्वागत गरेका थिए । मास्टरसेफमा कोदोको खीर लगायतका नेपाली परिकार बनाएपछि उनको चर्चा चुलिएको थियो । प्रतियोगिताको पूर्व चरणमा उनले नेपाली मासुको झोल, सिस्नु, बेथे जस्ता तरकारी, तामा र भाङको चटनी, मकैको रोटी, जस्ता परम्परागत नेपाली खानाहरु पस्किएका थिए । तर कोदोको खीर लगायतका नेपाली परिकार बनाएपछि मास्टरसेफमा उनको चर्चा चुलिएको थियो ।
नेपाली खानालाई विश्वभर चिनाउने ‘वर्ल्ड रोडम्याप’ बनाएर आफू काठमाडौं आइपुगेको उनले विमानस्थलमा बताए । नेपालका पाँचवटा मौलिक परिकारलाई विश्वब्यापी बनाउने आफ्नो योजना रहेको उनले बताए । यसबारे आफूले पुस्तक लेखिरहेको र अनुसन्धानका लागि नेपाल आएको उनले जनाए । पाँचवटा भाषामा एकलाख प्रति पुस्तक प्रकाशन हुने उनले बताए । लन्डन र नेपालमा एकसाथ रेष्टुरेन्ट खोल्ने योजना रहेको उनले सुनाए । आउने पाँचवर्षमा ५० वटा सन्तोष जन्मने भन्दै उनले नेपाली पुर्खाको सम्मान गर्नुपर्ने बताए ।
अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित बीबीसी मास्टर सेफ प्रतियोगितामा नेपाली खाना लिएर प्रतिस्पर्धा गर्ने सन्तोष नै पहिलो नेपाली सेफ हुन् । नेपालमा सिराहा घर भएका सन्तोष १४ वर्षको उमेरमै हस्पिटालिटी क्षेत्रमा प्रवेश गरेर यस सम्बन्धि अध्ययन र विश्वका प्रतिष्ठित होटल तथा रेस्टुरेन्टहरुमा हेड सेफ र इक्जिक्युटिभ सेफको रुपमा जिम्मेवारी लिइ केको छ ।
सन् २०१० मा बेलायत आएका सन्तोष अहिले यहाँको प्रतिष्ठित रेस्टुरेन्टमा कार्यरत छन् ।