प्रचण्ड–माधवलाई जसपाले सोध्यो : तपाईंहरू कुन पार्टीबाट ?
काठमाडौं । सत्ता सहकार्यका लागि प्रचण्ड–माधव समूहको नेकपासँग छलफलका लागि पार्टी कार्यालय पेरिसडाँडा पुगेका जनता समाजवादी पार्टी (जसपा) नेताहरूले प्रचण्ड–माधव समूहलाई तपाईंहरूको कुन पार्टीको हो भनेर पार्टीको अधिकारिकता बारे प्रश्न गरेका छन् । नेकपाको प्रचण्ड–माधव समूहसँग छलफल गर्न पेरिसडाँडामा जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ पुगेका थिए ।
बैठकमा अध्यक्षद्वय प्रचण्ड र माधवले राजनीतिक परिस्थितिअनुसार सहकार्य गरेर अघि बढ्न प्रस्ताव गरेका थिए । जवाफमा जसपाका नेताहरूले ‘तपाईंहरूको पार्टी कुन हो?’ भनेर सोधेको थियो । नेकपा राजनीतिक रूपमा विभाजित भएपनि कानूनी रूपमा नछुट्टिएको, तर सत्ता समीकरणका लागि छलफल तीव्र बनाएको कारण जसपाले आधिकारिक पार्टीको प्रश्न राखेको जनाएको छ ।
सहकार्यको लागि आधिकारीक पार्टी चाहिएको नेता महतोले बताए। बैठकमा प्रचण्डले आफूहरू नै आधिकारिक नेकपा भएको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले जवाफ दिएको महतोको भनाइ छ । बैठकमा विगतमा संविधान संशोधनका सवालमा कांग्रेस, एमाले, माओवादीसित भएका सम्झौता कार्यान्वयन, आफ्ना नेता/कार्यकर्ताको रिहाइ लगायत विषयमा पार्टीको तर्फबाट भनाई राखिएको नेता महतोले जानकारी दिए ।
प्रचण्ड–माधव समूहले राखेको प्रस्तावबारे पार्टीमा छलफल गरिने पनि नेता महतोको भनाइ छ ।