नेकपाको दुवै समूह आन्तरिक रणनीति तय गर्न व्यस्त

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुन:स्थापना गरेपछि नेकपाको दुवै समूह आन्तरिक रणनीति बनाउन जुटेको छ ।

प्रचण्ड–माधव समूहको नेकपाले आज संसदीय दलको बैठक बोलाएको छ । बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ४ बजे बस्ने नेतृ पम्फा भुषालले जानकारी दिइन् ‌। बैठकले संसदमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्ने उनले बताइन्‌ । त्यस्तै यो समुहले नेपाली काङग्रेसको सभापती शेर बहादुर देउवा सँग पनि बार्ता गरेको कुरा सार्वजनिक भएको छ । यसअघि सडक संघर्षमा केन्द्रित भएको उक्त समूहले बुधवार ४ बजे संसदीय दलको बैठक बोलाएको छ । संसद भवनमा ४ बजेका लागि सांसदहरुलाई बोलाएको नेकपा संसदीय दलका प्रमूख सचेतक देव गुरुङले जानकारी दिए। संसदभित्रको अंकगणितका बिषयमा प्रचण्ड नेपालले रणनीतिक छलफल गर्नेछन् ।

यो समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद सचिवालयमा गत पुस ५ गते नै अविश्वासको प्रस्ताव दर्ता गराइसकेको छ । प्रतिनिधि सभा विघटन निर्णय असंवैधानिक ठहर गरेको सर्वोच्चले १३ दिनभित्र संसद बैठक बोलाउन आदेश दिइसकेको छ ।

यसैगरी प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न स्थायी कमिटीको बैठक बालुवाटारमा बसिरहेको छ ‌। प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्ने सर्वोच्चको फैसलासँगै विकास भएको राजनीतिक घटनाक्रममा नयाँ रणनीति बनाउन ओलीले आफ्नो पक्षका स्थायी समिति सदस्यको बैठक बोलाएका हुन् ‌।

बैठकमा ओली पक्षीय नेताहरु विष्णु पौडेल, राम बहादुर थापा बादल, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, टोप बहादुर रायमाझी, मणि थाप, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल लगायतको सहभागिता रहेको बताइएको छ । ओलीले सर्वोच्चको फैसला स्वीकार्ने बताएका छन् तर तत्काल राजीनामा भने नदिने सल्लाहकारमार्फत सन्देश दिएका छन् ।