नबनियुक्त प्रदेश प्रमुख झालाई जन्म गाउँमा २०१ किलोको मालाले स्वागत
प्रदेश २ को प्रमुखमा हालैमात्र नियुक्त भएका डा. राजेश झालाई जन्मिएको गाउँ रौतहटको सुन्दरपुरमा स्वागत गरिएको छ । गढीमाई नगरपालिकाका प्रमुख श्यामप्रसाद यादव तथा प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले प्रदेश प्रमुख झालाई दुई सय एक किलोको माला पहिराएर सोमवार सुन्दरपुरमा स्वागत गरेका हुन् । आइतबार प्रदेश प्रमुख पदको कार्यभार सम्हालेपछि पहिलोचोटि जन्मस्थल गढीमाई नगरपालिका–४ सुन्दरपुर पुगेर झाले प्रसिद्ध गढीमाईको दर्शन तथा पूजा गरेका छन् । गढीमाईको पूजा गरेपछि प्रदेश प्रमुख झालाई गढीमाई नगरपालिकाको कार्यपालिकाको तर्फबाट स्वागत तथा बधाई ज्ञापन गरिएको छ ।
प्रदेश प्रमुख झाले गाउँका स्थानीयबासी, दौंतरी तथा अग्रजहरुले स्वागत तथा बधाई ज्ञापन गरेपछि आफूलाई खुसी लागेको बताएका छन् । आफ्नो शिरमा देश र मनमा मधेस बोकेर काम थालेको बताएका प्रदेश प्रमुख डा. झालाई उद्देश्यमा सफलता प्राप्त हुने विश्वास लागेको नगर प्रमुख श्यामप्रसाद यादवले सम्पूर्ण नगरबासी खुसी भएको बताएका छन् । स्वागत तथा बधाई ग्रहण गर्दै डा. झाले कुनै प्रतिक्रिया नदिए पनि आफूभन्दा उमेर तथा नाताले ठूलाबाट आशीर्वाद पनि लिएका छन् । गाउँको स्थानीय बज्जिका भाषामा अग्रज तथा कनिष्ठसित पनि सामान्य अवस्थाको जस्तो व्यवहार प्रदर्शन गरेका छन् । कार्यभार समहालेको दोस्रो दिन गाउँमा पुगेर डा. झाले दौंतरीहरुलाई पनि भेटेर सबैको हौसला बुलन्द गरेका छन् ।
प्रदेश प्रमुख गाउँमा पुग्ने भएपछि स्थानीयहरु तथा नगरपालिकाले स्वागतको तयारी गरेका थिए । गाउँमा हुर्केर पत्रकारितामा नाम कमाएका डा. झालाई गाउँमा देखेपछि सबै वर्ग तथा समुदायमा गर्वको अनुभूति भएको स्थानीयको टिप्पणी छ ।
यसअघि आइतबार ओली समूहका कार्यकर्ताले झालाई जनकपुरधाम विमानस्थलमा १ सय १ किलोको मालाले स्वागत गरेका थिए ।
स्रोत- नागरिकन्युज