गैर आवासिय नेपाली संघ र अन्तराष्ट्रिय पर्वत समाजले पर्वत रेडक्रसलाई एम्बुलेन्स किन्न सहयोग रकम हस्तन्तरण

पर्वत । गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय परिषद र अन्तराष्ट्रिय पर्वत समाजले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतलाई एम्बुलेन्स सहयोग गरेका छन् । पर्वत रेडक्रसमा हाल दुई वटा एम्बुलेन्स रहेकोमा एउटा एम्बुलेन्स निकै पुरानो भएर वर्षाैं पहिलेदेखि थन्किएर बसेको छ भने चालु अवस्थामा रहेको एउटा एम्बुलेन्स पनि पुरानो भएको छ । बिरामी ओसारपोसार गर्नुपर्ने आकस्मिक अवस्थामा समेत चालु अवस्थामा रहेको एम्बुलेन्स पटक–पटक ग्यारेजमा रहने अवस्था थियो । यही समस्याको समाधानको लागि रेडक्रसलाई एम्बुलेन्स किन्न रकम हस्तान्तरण गरिएको एनआरएनएका आइसिसी सदस्य तथा एनआरएनए स्वीडेनका पूर्वअध्यक्ष अर्जुनकुरमार श्रेष्ठले बताए।

‘गाउँमा होस वा सहरमा बिरामी ओसारपोसार गर्न एम्बुलेन्स आवश्यक पर्दा जसले पनि रेडक्रसलाई सुरुमै सम्झिन्छ । तर पर्वत रेडक्रसमा रहेको एउटा चल्दै नचलेको र चलेको पनि निकै पुरानो भएर बेला बेलामा दुःख दिने गरेको रहेछ,’ उनले भने, ‘आम नागरिकले मागेको बेलामा एम्बुलेन्स जान सकून् र कसैको ज्यान बाँचोस भनेर रेडक्रसलाई यो सहयोग गरिएको हो ।’

एम्बुलेन्स खरिदका लागि तत्कालै सात लाख ५५ हजार रुपैयाँ उपलब्ध भएको र बाँकी ६ लाख रुपैयाँ पुनः आउने रेडक्रस पर्वतका सभापति रुद्रबहादुर रिमालले बताए । सोही अवसरमा रेडक्रसमा रहेको रक्तसञ्चार केन्द्रलाई थप प्रभावकारी र आधुनिक रुपमा सञ्चालन गर्न पर्वत अस्पतालबाट करिब तीन लाख मूल्य बराबरका रक्तसञ्चारसम्बन्धी सामग्री पनि हस्तान्तरण गरिएको छ।

पहिलेबाट नै रेडक्रसमा रक्तसञ्चार केन्द्र रहेको भए पनि आवश्यक बजेटको अभावमा त्यसलाई प्रभावकारी र सुविधायुक्त बनाउन सकिएको थिएन । जसलाई जुन बेलामा रगतको आवश्यकता पर्दछ त्यही बेलामा सम्पर्कमा रहेका व्यक्तिहरुलाई बोलाएर रक्तदान गर्ने गरिएको छ । यसलाई व्यवस्थित रुपले सञ्चालन गर्न ती सामग्री रेडक्रसलाई हस्तान्तरण गरिएको अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले बताए। सहयोग गरिएका सामग्रीमा माइक्रोस्कोप, डोनेसन चियर, ब्लड व्यागलगायत रहेका छन् ।

पर्वत रेडक्रसका सभापति रिमालले पर्वत अस्पतालमा डायलासिस गराउने तथा अन्य बिरामीहरुलाई आवश्यक पर्ने रगत आपूर्ति सुनिश्चित गर्न पर्वत अस्पतालले दिएको उपकरणले धेरैको ज्यान बचाउन सहयोगी भूमिका खेल्ने बताए ।