बागलुङको गलकोटका तीन वनमा आगलागी, लमजुङको आगोलागी भने तीन दिनपछी नियन्त्रणमा

बागलुङ । बागलुङको गलकोटका तीन सामुदायिक वनमा आगलागी भएको छ । आज दिउँसोदेखि तीनवटै सामुदायिक वनमा आगलागी भएको हो । आगो नियन्त्रणबाहिर रहेकाले स्थानीयवासी चिन्तित बनेका छन् । गलकोट नगरपालिका–५ र ७ का तीन सामुदायिक वनमा आगलागी हुँदा करोडौँको क्षति भएको थम्मन थापाले बताउनुभयो । भैंसे दान्सिङडाँडा सामुदायिक वन गलकोट नगरपालिका–५ देखि शुरु भएको आगो छिमेकी वडाको ठूलाचौर सामुदायिक वनसम्म फैलिएको छ । आगलागीका कारण दानसिङडाँडा सामुदायिक वनको झण्डै ४० हेक्टर क्षेत्रफलमा क्षति भएको सामुदायिक वनका सदस्य मानबहादुर भण्डारीले जानकारी दिनुभयो । दिउँसोदेखि इलाका प्रहरी कार्यालय गलकोट र स्थानीयवासीले आगो निभाउने प्रयास गरे पनि अहिले आगो नियन्त्रणबाहिर रहेको उहाँले बताउनुभयो ।सोही आगो छिमेकी वडा नं ७ को ठूलाचौर सामुदायिक वनमा प्रवेश गरेसँगै उक्त सामुदायिक वनको झण्डै २० हेक्टर क्षेत्रफल क्षति भएको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष थुमकुमारी थापाले जानकारी दिनुभयो ।

आगोको कारण दानसिंङ सामुदायिक वनसँगै जोडिएको गगनपानी सामुदायिक वन गलकोट नगरपालिका–५ को झण्डै पाँच हेक्टर क्षेत्रफल वन क्षेत्रमा पनि क्षति भएको बताइएको छ । ठूलाचौर महिला सामुदायिक वन, दानसिङडाँडा सामुदायिक वन सिमाना जोडिएका वन हुन् । आगो अहिले पनि जङ्गलमा फैलिरहेको छ । आगो बस्तीतिर आउने खतरा रहेको भन्दै स्थानीयवासी चिन्तित भएको गलकोट नगरपालिका–७ का वडाध्यक्ष सुवेदार टीकाबहादुर थापाले जानकारी दिनुभयो ।

आगो निभाउन स्थानीयवासी र प्रहरीको सक्रियता रहेको वडाध्यक्ष थापाले बताउनुभयो । वन क्षेत्रमा आगलागी हुँदा वनमा रहेका जीवजन्तु, चराचुरुङ्गी र रूखबिरुवा जलेर नष्ट भएका छन् । साँझ परिसकेको र भीरमा आगलागी भइरहेको हुँदा आगो नियन्त्रण गर्न कठिन भएको ठूलाचौर सामुदायिक वन उपभोक्ता समितिका सचिव सुनिता साहानी थापाले जानकारी दिनुभयो । आगलागी हुँदा करोडौँको क्षति भएको छ ।

लमजुङको जंगलमा लागेको आगो तीन दिनपछि नियन्त्रणमा

लमजुङको जङ्गलमा आगलागी भएको तीन दिनपछि नियन्त्रणमा आएको छ । गत शनिबार दिउँसोबाट लमजुङको बेँसीशहर नगरपालिका–६ रहेको शान्ति, सुलीकोट र भोटेचौर सामुदायिक वनको जङ्गलमा लागेको आगो आज नियन्त्रण आएको हो । शनिबारबाट शुरु भएको आगलागी आज तेस्रो दिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको पहलमा नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।

उनका अनुसार ३० हेक्टर क्षेत्रफलमा आगलागी भएको छ । नगरपालिकाको दमकल, सुरक्षा निकायले अग्नि नियन्त्रण सामग्रीको माध्यमबाट आगो नियन्त्रणमा लिन सफल भएको प्रजिअ शर्माको भनाइ छ । आगलागीबाट जङ्गली जनावर, चराचुरुङ्गी तथा जमीनमा घिस्रिएर हिँड्ने प्राणीको बासस्थान सखाप भएको छ । जङ्गलमा कस्ले आगो लगाएको भनेर पत्ता लागिसकेको छैन । यस जङ्गलमा गत वर्ष पनि आगलागी भएको थियो ।