गण्डकी मुख्यमन्त्री कप भलिबल सम्पन्न: पुरुषमा तनहुँ र महिलामा म्याग्दीको बिजयी

पोखरा । कास्की जिल्ला भलिबल सङ्घको आयोजनामा भएको पोखरामा भएको प्रथम मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । महिला र पुरुष दुवैतर्फ खेलाइएको प्रतियोगितामा पुरुषतर्फको उपाधि तनहुँ जिल्लाले जितेको छ भने महिलातर्फको उपाधि म्याग्दी जिल्लाले पाएको छ ।

महिलातर्फको फाइनल खेलमा म्याग्दीले पर्वतलाई सोझो सेटमा पराजित गरेको हो । खेलको सुरुवाती चरणबाट नै पर्वतलाई दबाबमा राखेको थियो । सुरुका दुई सेटमा पर्वतका खेलाडीमा तालमेलको अभाव देखिएको थियो । म्याग्दीले पर्वतलाई २५–१४, २५–१५ र २५–१७ को सेटमा पराजित गरेको हो। म्याग्दीको टोलीमा राष्ट्रिय महिला भलिबल टोलीका कप्तान अरुणा शाही र राष्ट्रिय टोलीका सदस्य कमला पुन लगायतका खेलाडीको साथमा मैदान उत्रिएको थियो । पर्वतको टोलीमा भने न्यु डायमन्ड एकेडेमीबाट खेल्दै आएकी हिरा के.सी. मात्र चलेकी खेलाडी हुन् । अन्य खेलाडी भने स्थानीय रहेका थिए ।

महिला तर्फको खेलको तेस्रो स्थानमा भने तनहुँको टोली आएको छ । उसले प्रतिद्वन्द्वी कास्कीलाई पराजित गरेको थियो । तनहुँले लगातार दुई र चौथो सेटमा कास्कीलाई पाखा लगाएको हो । जीतका लागि तनहुँले २५–१६, २५–१४ र ३०–२८ अङ्क ल्याउन सफल भएको थियो । कास्कीले भने दोस्रो सेटमा मात्र २५–२२ को अन्तरले तनहुँलाई पराजित गरेको थियो ।

यस्तै पुरुषतर्फको फाइनल खेलमा तनहुँले स्याङ्जालाई पराजित गरेको छ। निकै प्रतिस्पर्धात्मक रूपमा सम्पन्न भएको खेलमा विजेता टुङ्गो लगाउन पाँच ओटै सेट खोलाउनुपरेको थियो । खेलको दोस्रो, तेस्रो र पाँचौँ सेटमा तनहुँले कब्जा जमायो भने स्याङ्जाको पक्षमा पहिलो र चौथो सेट मात्र रह्यो । तनहुँले दोस्रो सेट २५–१७ मा, तेस्रो सेट २५–२० र पाँचौँ सेट १५–११ को अन्तरमा जीतेको थियो भने स्याङ्जाले पहिलो सेट २५–२३ र चौथो सेट २५–१३ को अन्तरमा जितेको थियो। खेलको पहिलो सेट निकै प्रतिस्पर्धी रहेकोमा दोस्रो सेटमा भने तनहुँले स्याङ्जालाई दबाबमा राखेको थियो। यस्तै चौथो सेटमा तनहुँ दबाबमा परेको थियो ।

प्रतियोगिताको पुरुषतर्फको खेलमा पर्वत जिल्लाले तेस्रो स्थान हात पारेको छ । वेस्ट अफ फाइभको आधारमा भएको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो। चार सेट खेल्नुपरेको प्रतियोगितामा पर्वतले म्याग्दीलाई २५–१४, २५–१७ र २७–२५ मा समेटेको थियो । पहिलो सेटमा भने म्याग्दीले २५–२३ ले पर्वतलाई पराजित गरेको थियो ।

दोस्रो सेटबाट लयमा फर्किएको पर्वतले त्यसपछिको तेस्रो सेट पनि सजिलै हात पार्‍यो । चौथो सेटको २३ औँ अङ्क आउने बेलासम्म म्याग्दीले लिड गरेको भए पनि त्यसपछि भने अङ्क बराबरी गर्दै पर्वतले खेल नै उल्ट्याइदिएको थियो। सम्हालिएर खेलेका पर्वतका खेलाडीले लगातार बराबरी गर्दै २७–२५ को अन्तरमा चौथो सेट आफ्नो पक्षमा पारेका थिए ।

प्रतियोगितामा पुरुषतर्फको विजेता तनहुँ र महिला तर्फको विजेता म्याग्दीले समान २, २ लाख रुपैयाँ नगद सहित शिल्ड मेडल र प्रमाणपत्र पाएका छन् । यस्तै महिलातर्फ दोस्रो बनेको पर्वत र पुरुषतर्फ दोस्रो बनेको स्याङ्जाले समान १, १ लाख रुपैयाँ नगद सहित मेडल र प्रमाण पत्र पाएका छन् ।

महिला तर्फको तेस्रो बनेको तनहुँ र पुरुषतर्फको तेस्रो बनेको पर्वतले समान ५०, ५० हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाएका छन् । यस्तै महिला र पुरुष दुवैतर्फका टोलीबाट सर्वोत्कृष्ट बनेका खेलाडीसहित उत्कृष्ट सेटर, डिफेन्डर, स्पाईकर र लिफ्टरहरुलाई पनि नगद ५, ५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।