सपना रोका मगरलाई धम्की दिने विनयजंग बस्नेत पक्राउ
काठमाडौं । बेवारिसे शव जलाउँदै आएकी सपना रोका मगरलाई धम्की दिने विनयजंग बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । विनयजङ्ग बस्नेतलाई प्रहरीले मंगलवार नयाँ बसपार्कबाट पक्राउ गरिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंह अनुसार अभद्र व्यवहार गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको जानकारी दिए । उनी बिरुध्द सपना रोका मगरले ज्यान मार्ने धम्की दिएको भनी गत आइतबर प्रहरीमा उजुरी दिएकी थिइन् ।
सपना तिनै हुन् जो बि.बि.सीको विश्वको एक सय प्रभावशाली महिलाको सूचीमा परेकी थिइन् । सपना र बस्नेत दुवै जना मिलेर बेवारिसे शव जलाउँदै आएका थिए । बस्नेतलाई आफ्नो धर्म बुबा बताउँदै आएकी सपना र उनीबीच पछिल्लो समय विवाद बढ्दै गएको थियो । सम्बन्धमा तिक्तता आएपछि बस्नेतले सपनाको चरित्रहत्या गर्दै आएका थिए ।
बस्नेतले युट्युबमार्फत सपनालाई सार्वजनिक रूपमै धम्की दिएका थिए । उनले सपनाको नग्न तस्बिर तथा भिडियो आफ्नो मोवाइल र पेनड्राइभमा सुरक्षित रहेको र जुनसुकै बेला सार्वजनिक गरिदिने धम्की दिएका थिए । उक्त धम्कीपछि सपनाले गृहमन्त्रीसमक्ष उजुरी दिएकी थिइन् । गृहमन्त्री रामबहादुर थापाले उनलाई प्रहरीमा उजुरी दिन सुझाव दिएका थिए ।