अभिनेत्री करिश्मा मानन्धर महानायिकाको उपाधिले सम्मानित

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर महानायिकाको उपाधिले सम्मानित भएकी छिन् । आरके इन्टरटेनमेन्टले आफ्नो २० औं वार्षिकोत्सवको अवसर पारेर अभिनेत्री मानन्धरलाई यो सम्मान प्रदान गरेको हो । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै आरके इन्टरटेनमेन्टले अभिनेत्री करिश्मा मानन्धरलाई महानायिका लेखिएको स्यास र क्राउन समेत लगाइदिएको छ । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा करिश्मालाई राजेश हमाललगायतले महानायिका देखिने स्यासे र क्राउन लगाइदिएका थिए । उनलाई हमाललगायतले महानायिका घोषणा गर्दै बधाई ज्ञापन गरेका थिए । नेपाली चलचित्र जगतमा तीन दशकदेखि आफ्नो छवि बनाएकी करिश्माले २०४५ सालमा चलचित्र ‘सन्तान’बाट नायिकाको रूपमा यात्रा गरेकी थिईन् ।

त्यस्तै समारोहमा आरके इन्टरटेनमेन्टले आयोजना गरेको अनलाइन ग्राण्ड सिङगिङ आइडल तथा स्याल यु डान्स कार्यक्रमका विजेतालाई पनि अवार्ड वितरण भएको थियो । सिङगिङ आइडलका विजेता मोनिका तमाङ तथा फस्ट रनरअप सुमिरन हुमागाई थिए भने सेकेन्ड रनर्सअप मिनिसा तामाङ भएकी थिइन् । कार्यक्रममा सिंगिङ आइडलका निर्णायकहरु आनन्द कार्की, मिन साागर लामा, सरिता भारती र सरोज प्याकुरेललाई पनि सम्मान गरिएको थियो ।

सम्मान पश्चात फोटो खिचाउदै महानायिका

समारोहमा कलाकार नीर शाह, कुलमान घिसिङ्ग, गीतकार डा.भोला रिजाल, गीतकार मिन सागर लामा लगायतका व्यक्तिहरुलाई समेत राष्ट्रिय सम्मान प्रदान गरिएको थियो । करिव एक दशकअघि यही समुहले अभिनेता राजेश हमाललाई महानायकको उपाधि दिएको थियो ।