अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच टेलिफोन वार्ता

अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच टेलिफोन वार्ता भएको छ । बार्ताबारे भारतीय प्रधानमन्त्री मोदीले ट्विटमार्फत आफूहरुबिच फोनमा वार्ता भएको जानकारी गराउनु भएको छ ।

सोमबार भएको टेलिफोन वार्ताका क्रममा दुई नेताहरूबीच क्षेत्रीय भू-राजनीति, समसामयिक विश्व परिवेश, जलवायु परिवर्तन र आपसी सहकार्यका विषयमा छलफल भएको कुरा नयाँदिल्ली र वासिङ्टन दुबै पक्षले जानकारी गराएका छन् । भारतीय प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गर्दै मोदीले बाइडेनलाई बधाई र सफल कार्यकालका लागि शुभकामना दिँदै भारत-अमेरिका रणनीतिक सहकार्यका लागि काम गर्न आतुर रहेको कुरा उल्लेख गरेको छ । ‘उहाँहरूबीच क्षेत्रीय विकास र समग्र भू-राजनीतिक विषयमा कुराकानी भयो । दुबै जनाले नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था र स्वतन्त्र, खुला र समावेशी इन्डो-प्यासेफिकका लागि उस्तै सोच राख्ने देशहरूबीचको सहकार्यको महत्वलाई दोहोर्‍याउनुभयो,’ विज्ञप्तिमा भनिएको छ ।

कुराकानी क्रममा मोदीले पेरिस जलवायु सम्झौतामा अमेरिका फेरि जोडिने र आगामी अप्रिलमा जलवायु सम्मेलन गर्ने बाइडेनको निर्णयको स्वागत गरेका थिए । अमेरिकी राष्ट्रपति कार्यालयले ह्वाइटहाउसले पनि विज्ञप्ति जारी गर्दै दुई नेताबीच कोभिड-१९ विरूद्धको लडाइँमा सहकार्य गर्ने, जलवायु परिवर्तनका विषयमा दुई देशबीचको सहकार्यलाई नवीकरण गर्ने, दुबै देशका जनतालाई फाइदा पुग्ने गरी विश्व अर्थ व्यवस्था बनाउने र विश्व आतंकवादका विरूद्ध एक ठाउँमा उभिने विषयमा कुरा भएको उल्लेख गरेको छ । दुई नेताहरू नेभिगेसनको स्वतन्त्रता र भौगोलिक एकतासहित स्वतन्त्र खुला र इन्डो-प्यासेफिक क्षेत्र बनाउनका लागि सहकार्य बढाउने कुरामा सहमत भएको ह्वाइटहाउसले जनाएको छ ।

साथै ‘राष्ट्रपति बाइडेनले संसारभरि प्रजातान्त्रिक संस्था र मूल्यमान्यताको रक्षा गर्ने आफ्नो चाहनामा जोड दिँदै प्रजातान्त्रिक मान्यताप्रतिको प्रतिवद्धता नै अमेरिका-भारत सम्बन्धको आधार भएको उल्लेख गर्नुभयो,’ विज्ञप्तिमा भनिएको छ । दुई नेताहरू म्यानमारमा कानुनी शासन र प्रजातान्त्रिक प्रक्रिया लागु हुनु पर्ने कुरामा पनि ‌एकमत भएको उल्लेख गरिएको छ । म्यानमारमा गत साता सेनाले कू गरेको छ ।

जनवरी २० मा अमेरिकाको राष्ट्रपति बनेका बाइडेन पहिलो पटक भारतीय प्रधानमन्त्री मोदीसँग कुराकानी गरेका हुन् । बार्ताबारे प्रधानमन्त्रीले दुई ट्विट् मार्फत पनि जानकारी गराउनुभएको थियो ।