स्याङ्जाको पर्यटकीय गाउँ सिरुवारी माघको अन्तिमदेखी खुल्ने
पोखरा । स्याङ्जाको पर्यटकीय गन्तव्य सिरुवारी पयर्टकका लागि माघ २७ देखि खुल्ने भएको छ । आँधीखोला गाउँपालिका १ को सिरुवारीलगायत स्याङ्जाका ४९ होमस्टे माघ २७ देखि खुल्ने भएका हुन् ।
नेपालकै पहिलो पयर्टन गाउँ सिरुवारी कोभिड–१९ कहरका कारण चैतदेखि बन्द भएका थिए । ‘चैतदेखि बन्द रहेको होमस्टे खोल्न लागेका छौं, प्रवद्र्धनात्मक कार्यक्रम पनि गरिनेछ,’ होमस्टे एसोसियसन नेपाल स्याङ्जाका अध्यक्ष मोहन खनालले भने । नेपाल सरकारले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न ‘डमेस्टिक टुरिजम रिभाइभल कमिटी’ गठन गरेको छ । कमिटीले आवश्यक सुरक्षा मापदण्ड अपनाइ स्याङ्जाको होमस्टे पुनःसञ्चालनमा ल्याउन लागेको हो ।
अध्यक्षखनालका अनुसार सरकारले गठन गरेको कमिटीको अभियानलाई साथ दिने गरी हरेक महिना १, १ कार्यक्रम गरिनेछ । यस महिनाको कार्यक्रम अन्तर्गत सिरुवारीमा गाउँपालिका परिचयात्मक भ्रमण आयोजना गरिएको छ । भ्रमणमा स्याङ्जाका होमस्टे सञ्चालकहरू भ्रमणमा जानेछन् ।
अर्को महिना फागनु २७ देखि २९ गतेसम्म वालिङ नगरपालिका ४ को कुलमान घिसिङ झरनामा क्यानोनिङ महोत्सव तथा मैत्रीपूर्ण प्रतियोगिता सञ्चालन गरिने छ । चैतमा होमस्टेमा कोभिडको प्रभाव तथा छलफल सिरुवारीमा आयोजना गरिने छ ।