बाराक ओबामाको प्रोडक्सन कम्पनिले पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको बारेमा फिल्म निर्माण गर्ने
काठमाडौं । नेपालका पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको बारेमा फिल्म निर्माण हुने भएको छ । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र मिसेल ओबामाको प्रोडक्सन कम्पनी ‘हाइअर ग्राण्ड प्रोडक्सन’ ले नेटफ्लिक्समा रिलिज हुने गरी तेन्जिङ नोर्गे शेर्पाको बारेमा फिल्म निर्माण गर्न लागेको हो । हाइअर ग्राउन्डस्ले शनिबार एक साथ ६ वटा फिल्म तथा सिरिजको घोषणा गर्दै तेन्जिङको जीवनीमा पनि फिल्म बनाउने घोषणा गरेको हो । फिल्मको नाम ‘तेन्जिङ’ रहने जनाइएको छ ।
यसका लागि नेटफ्लिक्ससँग ओबामाको प्रोडक्सन कम्पनीले सहकार्य गर्ने भएको छ । तेन्जिङको बारेमा फिल्म निर्माण गर्न लागेको नेटफ्लिक्सले जानकारी गराएको हो । फिल्मको स्क्रिप्ट एड डग्लसको पुस्तक ‘तेन्जिङ, हिरो अफ एभरेस्ट’ मा आधारित निर्माण हुने भनिएको छ भने यस फिल्मको निर्देशन जेनिफर पिडमले गर्दैछन् ।
सन् १९५३ मे २९ मा पहिलो पटक तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका आरोही एडमन्ड हिलारीले एकसाथ सगरमाथाको सफल आरोहण गरेका थिए ।