भारतमा जारी किसान आन्दोलनबारे राष्ट्रसंघको पहिलो प्रतिकृया

भारतमा भइरहेको किसान आन्दोलनका बारेमा संयुक्त राष्ट्र संघले पहिलो पटक प्रतिक्रिया दिएको छ । संयुक्त राष्ट्र संघको मानवाधिकार संस्थाले भारतमा भइरहेकाे किसान आन्दोलनलाई लिएर प्रशासन र प्रदर्शनकारी दुवैले अधिकतम संयमता अपनाउन अपील गरेको छ । युएन ह्यूमन राइट्सले शान्तिपूर्ण रुपमा हुने प्रदर्शनका लागि अफलाइन र अनलाइन दुवै अधिकार सुरक्षित हुनुपर्ने बताएको हो ।

सबैकाे मानवाधिकारको सम्मान गर्दै न्यायसंगत समाधान निकाल्न पनि आग्रह गरिएको छ । संयुक्त राष्ट्र संघले भारतमा पछिल्लो दुई महिनादेखि भइरहेको किसान आन्दोलनबारे प्रतिक्रिया जनाएको यो पहिलो पटक हो । यसअघि विश्वका प्रख्यात हस्तीहरुले भारतकाे किसान आन्दोलनबारे प्रतिक्रिया जनाउँदै आफूहरुको समर्थन रहको बताएका थिए । जसमा भारत सरकारले आपत्ति जनाएको थियो ।

अमेरिकी पप स्टार रिहानादेखि पोर्न स्टार मिया खलिफासम्मले ट्विट गरेपछि भारतीय किसान आन्दोलनप्रति विश्वभरको चासो बढेको छ । केही दिन अघि अन्तराष्ट्रिय गायिका रिहानाले किसान आन्दोलनबारे ट्वीट गर्दै भनेकी थिइन्, ‘यसबारेमा किन कोही कुरा गरिरहेका छैनन्।’

आन्दोलनको प्रमुख कारण

भारतको संसदले गएको सेप्टेम्बर २०२० मा कृषि सम्बन्धी दुईवटा ऐन पारित गर्‍यो, जसको विरोधमा देशभरका किसानले थालेको आन्दोलन अहिलेसम्म थामिएको छैन । कृषि उपजको मूल्य निर्धारण, बिक्री तथा भण्डारणसम्बन्धी तीनवटा कानून सरकारले ल्याएको थियो । संसदले कानून पारित गरेलगत्तै किसानको विरोध शुरू भएको हो । उनीहरूले ‘भारत बन्द’ सहित आन्दोलनका अनेक प्रयोग गर्दै आएका छन् । किसान आन्दोलन अहिले राजधानी नयाँदिल्लीमा केन्द्रित छ ।

किसानसम्बन्धी संगठन र तिनका प्रतिनिधिहरूले ऐन फिर्ता लिनेबाहेक अरू कुनै पनि विषयमा सहमति हुन नसक्ने बताएका छन् । किसान नेताहरूले भारतीय सर्वोच्च अदालतले कृषि कानूनलाई लिएर दिएको अन्तरिम आदेश र सर्वोच्चले नियुक्त गरेको कमिटीलाई पनि स्वीकार गरेका छैनन् ।

किसानको विरोधपछि भारत सरकारले गत २१ जनवरीमा १८ महिनाका लागि कानून स्थगन गर्ने प्रस्ताव किसान नेताहरूसामु राखेको थियो । त्यसलाई पनि उनीहरूले मानेनन् । १४ अक्टोबर २०२० देखियता सरकार र किसान नेताहरूबीच वार्ताको लामै शृंखला चलिसकेको छ, तर कुनै समाधान निस्केको छैन । सरकार किसानसँग जति पनि वार्ता गर्न तयार छ, तर माग पूरा गर्न तयार छैन ।

कांग्रेस आईलगायत विपक्षी पार्टीहरूले किसानको आन्दोलनलाई समर्थन गरेका छन् । केही सेलिब्रिटी, खेलाडीहरू विभाजित छन् । बरु अमेरिकालगायतका विदेशी सेलिब्रिटीले यो आन्दोलनमा चासो दिन थालेपछि भारतमा उनीहरू विरुद्ध घृणा फैलाउने अभियान चलिरहेको छ ।