चीन र कोभ्याक्सले नेपाललाई कोरोना बिरुध्दको खोप उपलब्ध गराउने

काठमाडौं । चीनले नेपाललाई ५ लाख डोज कोरोना खोप अनुदान दिने घोषणा गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग शुक्रबार भएको टेलिफोन सम्वादका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले ५ लाख डोज कोरोना खोप दिने जानकारी दिएका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार विदेशमन्त्री वाङले कोरोना खोपका लागि नेपाललाई प्राथमिकतामा राख्ने बचन समेत दिएका छन् ।

यसअघि माघ १८ मा चीनले ३ लाख कोरोना खोप दिने भनिएको थियो र काठमाडौंस्थित चिनियाँ दूताबासले पनि त्यसको पुष्टि गरेको थियो । विदेशमन्त्री वाङले शुक्रबार घोषणा गरेको ५ लाख जोड कोरोना खोप यसअघि भनिएको ३ लाखभित्रै हो कि थप हो भन्ने खुलेको छैन । अहिलेसम्म कुनै पनि चिनियाँ खोप आपतकालीन प्रयोगका लागि नेपालमा दर्ता भएको छैन ।

त्यस्तै, कोभ्याक्स सुविधामार्फत २० लाख डोजभन्दा बढी कोरोना भाइरसविरुद्धको खोप नेपाल आउने भएको छ । बेलायतले प्रदान गरेको सहयोगमा नेपालका लागि खोप आउन लागेको नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले जानकारी दिएकी छिन् । विश्व स्वास्थ्य संघ (डब्लूएचओ)को पहलमा सबै देशमा कोरोनाविरुद्धको खोप पुर्‍याउन ‘कोभ्याक्स सुविधा’ तयार गरिएको हो। डब्लूएचओसँगै दुई वटा अन्तर्राष्ट्रिय संस्था गाभी (द ग्लोबल एलाइन्स फर भ्याक्सिन्स एन्ड इम्युनिजेसन्स) र सेपी (द कोलिजन फर इपिडेमिक प्रिपेयर्डनेस इनोभेसन्स)ले कोभ्याक्स सुविधाको संयोजन गरिरहेका छन् ।

कोभ्याक्स सुविधामार्फत गरिब देशहरुमा कोरोनाविरुद्धको खोप वितरण गर्ने डब्लूएचओको तयारी छ । यसमा धनी देशहरुले सहयोग गर्ने र त्यही सहयोगमार्फत गरिब देशमा खोप वितरण गरिनेछ।बेलायती सहयोगमा नेपालका लागि कोरोना खोप आउन लागेको राजदूत पोलिटले बताएकी हुन् । उनले बिहीबार राति ट्वीट गर्दै एक महीनाभित्रै खोप आउने जानकारी दिएकी छिन् ।

राजदूत पोलिटको ट्विट्

यो खोप स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, डब्लूएचओ नेपाल र युनिसेफसँगको सहकार्यमा वितरण हुने उनले जानकारी दिएकी छिन् । यसअघि दक्षिणी छिमेकी भारतले नेपाललाई १० लाख डोज कोरोना खोप उपलब्ध गराएको थियो र १४ माघबाट खोप अभियान चलिरहेको छ ।