बेलायतले बसोबास गर्न दिने भनेपछि बिएनओ पासपोर्टलाई बेइजिङले नमान्ने

एजेन्सी । बेलायतले हङकङमा रहेका लाखौं बिएनओ पासपोर्टधारीलाई आफ्नो मुलुकमा बसोबास गर्न दिने भन्ने प्राबधान ल्याए सँगै चीनले ब्रिट्रिस नेशनल ओभरसिज (बिएनओ) पासपोर्टलाई जनवरी १ देखि यात्राका लागि प्रमाणित कागजात नमान्ने भएको छ । बेलायतले हङकङमा रहेका लाखौं बिएनओ पासपोर्टधारीलाई आफ्नो मुलुकमा बसोबास गर्न दिने कार्यक्रमको सुरू गर्न लागेकै दिनदेखि बेइजिङले उक्त कागजात बोकेर यात्रा गर्न नपाइने बताएको हो ।

शुक्रबारको पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने- बेलायतले ठूलो संख्यामा हङकङका नागरिकलाई आफ्नो देशमा दोस्रो दर्जाको नागरिक बनाउन खोज्दै छ । यसले बिएनओको सुरूको स्वरूपलाई पूरै परिवर्तन गरिदिन्छ । गत वर्ष बेइजिङले हङकङमा राष्ट्रिय सुरक्षा कानुन लगाएपछि बेलायतले आफ्नो पहिलाको भूमि हङकङका ३० लाख मानिसलाई बेलायतमा बसोबासको सुविधा दिने निर्णय गरेको थियो ।

यो निर्णयअनुसार बिएनओ पासपोर्ट भएका हङकङवासीले पाँच वर्षसम्म बेलायतमा काम र पढाइ गर्न पाउँछन् भने त्यसपछि नागरिकताका लागि आवेदन दिन सक्नेछन् । सन् १९८७ को ब्रिट्रिस कानुनअनुसार बिएनओ पासपोर्टको व्यवस्था गरिएको थियो । बेलायतले सन् १९९७ मा हङकङ चीनलाई हस्तान्तरण गरेको थियो ।