सामाजिक सञ्जालको अत्यधिक प्रयोगले किशोरकिशोरीको ‘मानसिक स्वास्थ्यमा दुष्प्रभाव’

यूकेको एक अध्ययनले धेरै सामाजिक सञ्जाल प्रयोगल गर्दा १३ देखि १९ वर्षका किशोरीकिशोरीको मानसिक स्वास्थ्य बिगार्ने देखाएको छ । एडुकेशन पलिसी इन्स्टिट्यू ट र द प्रिन्स ट्रस्टको अध्ययनले प्राथमिक विद्यालयमा बालबालिकामा मानसिक स्वास्थ्य र आत्मसम्मानको अवस्था समान देखिएको छ । तर १४ वर्षको उमेर पुगेपछि किशोर र किशोरीको मानसिक स्वास्थ्यमा असर गर्ने र किशोरीको अझ धेरै बिग्रिने अध्ययनले देखाएको छ ।

अध्ययनका अनुसार यसको अर्को कारण व्यायामको अभाव पनि हो जुन कोभिड महामारीका कारण अझ विकराल बनेको छ । अध्ययनका अनुसार १४ वर्षको उमेर पुग्दा नपुग्दै तीनमध्ये एक किशोरी आफ्नो शरीरका बारेमा असन्तुष्ट हुन्छन् जुन बाल्यकालमा सात जनामा एक जनामा हुन्छ । सम्भावित मानसिक समस्या भएका किशोरकिशोरीको सङ्ख्या प्रत्येक छ जनामा एक जना छ । उक्त सङ्ख्या सन् २०१७ मा नौमा एक जना थियो
केटा र केटी दुवैको अवस्था किशोरावस्थामा घट्ने तर केटीमा अझ बढी घट्ने अध्ययनले बताएको छ । यद्यपि अध्ययनले केटीहरूको आत्मसम्मान र मानसिक स्वास्थ्य उमेर बढ्दै जाँदा स्थिर हुँदै जाने तर केटाहरूको खस्किन जारी हुने देखाएको छ ।

अत्यधिक सामाजिक सञ्जालको प्रयोग नकारात्मक मानसिक स्वास्थ्य र आत्मसम्मानसँग जोडिने एवं धेरै किशोरीहरूले अवसाद (डिप्रेशन) र निराशा महसुस गर्ने देखिएको छ । “यसरी नराम्रो महसुस गर्नेहरू एक्लो हुन वा समुदाय खोज्न सामाजिक सञ्जालमै जान चाहन्छन्,” केम्ब्रिज विश्वविद्यालयकी डा. एमी ओर्बेन भन्छिन् । यो अध्ययन इङ्ग्ल्यान्डमा सन् २००० पछि जन्मिएका ५,००० व्यक्तिमा गरिएको हो ।

नोभेम्बरमा ती किशोरकिशोरीमा कोरोनाभाइरस महामारीले पारेको असर बुझ्न समूहगत छलफल पनि गरिएको थियो । परिवारको आयले पनि किशोरकिशोरीको मानसिक स्वास्थ्यमा असर पारेको अध्ययनको निष्कर्ष छ । तर नियमित व्यायामले उनीहरूमा सकारात्मक प्रभाव पार्ने अध्ययनले बताएको छ ।

स्रोत- बि.बि.सी नेपाली