लिभरपुलको ६८ खेलको अपराजित यात्रा टुंगियो

घरेलु मैदानमा इंग्लिस प्रिमियर लिगमा लिभरपुलको अपराजित यात्रा टुंगिएको छ । घरेलु मैदानमा भएका ६८ खेलमा लगातार अपराजित गरेको लिभरपुल लिग अन्तर्गत बिहीबार राति भएको खेलमा बर्नलीसँग पराजित भएको हो । घरेलु मैदान एनफिल्डमा झण्डै ४ वर्षपछि हार्‍यो लिभरपुल ।

इंग्लिस प्रिमियर लिगमा पछिल्ला खेलहरुमा खराव प्रदर्शन गरिरहेको लिभरपुलले घरेलु मैदान एनफिल्डमा बर्नलीसँग १–० गोलको पराजय ब्यहोरेको छ । लिभरपुलका लागि यो प्रिमियर लिग अन्तर्गत घरेलु मैदानमा खेलिएको ६९ औं खेलमा पहिलो हार हो । बर्नलीको जितमा ८३ औँ मिनेटमा पाएको पेनाल्टीमा बार्नेसले गरेको गोल नै निर्णायक बन्यो । खेलको अन्त्यतिर एस्ले बार्नेसले पेनाल्टीमा गोल गरी बर्नलीलाई चर्चित जित दिलाएका हुन् ।

लिभरपुलका गोलरक्षक एलिसनले बार्नेसलाई बक्सभित्र फल गरेपछि पेनाल्टी दिइएको हो । बार्नेसले नै पेनाल्टीमा गोल गरेपछि सन् १९७४ यता बर्नलीले लिभरपुललाई हराएको यो पहिलोपल्ट हो ।

प्रिमियर लिग अन्तर्गत लिभरपुलले घरेलु मैदानमा पराजित हुनु नपरेको झण्डै चार वर्ष भएको थियो । सन् २०१७ को अप्रिलमा क्रिष्टल प्यालेससँग पराजित भएयता एनफिल्डमा खेलिएका लिग खेलमा जित वा बराबरीको नतिजा निकालेको थियो ।

पराजित भएपछि पनि लिभरपुल चौथो स्थानमा छ तर शीर्ष स्थानको म्यानचेस्टर युनाइटेडभन्दा ६ अंकले पछि छ भने पाँचौं स्थानको टोटनह्यामभन्दा १ अंकले अगाडि छ । टोटनह्यामले एक खेल कम खेलेको छ ।