फुलहमलाई हराउदै म्यानचेस्टर युनाइटेड पुन प्रिमियर लिगको शीर्ष स्थानमा

फुलहमविरुद्ध पुनरागमन जितसहित म्यानचेष्टर युनाइटेड प्रिमियर लिगको शीर्ष स्थानमा फर्केको छ । गएराति भएको खेलमा युनाइटेडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै फुलहमलाई उसैको मैदानमा २-१ ले हराएको हो । खेलको पाँचौ मिनेटमै एडेमोला लुकमनले गोल गर्दै फुलहमलाई पहिले अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समय टिकेन । २१औं मिनेटमा एडिनसन कभानीले युनाइटेडका लागि बराबरी गोल पर्काए ।

दोस्रो हाफमा पउल पोग्वाले युनाइटेडको लागि निर्णायक गोल गरे । ६५औं मिनेटमा पोग्वाले गरेको गोल नै निर्णायक बनेपछि युनाइटेडले ३ अंक जोडेको हो । जितपछि १९ खेलबाट ४० अंक जोड्दै युनाइटेड शीर्ष स्थानमा उक्लिएको छ ।

उता एस्टन भिल्लालाई २-० ले पराजित गर्दै म्यानचेष्टर सिटी दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा भएको खेलमा सिटीले दुवै गोल दोस्रो हाफमा गरेको थियो । ७९औं मिनेटमा बर्नानर्डो शिल्भा र ९०औं मिनेटमा इकाए गुन्डागोनले गोल गर्दै सिटीलाई जित दिलाए ।

जितपछि १८ खेलबाट ३८ अंक जोडेको सिटी लेस्टरलाई गोलअन्तरमा पछि पार्दै दोस्रो स्थानमा उक्लेको हो । १९ खेलबाट ३८ अंक नै जोडेको लेस्टर तेस्रो स्थानमा झरेको छ । १६ खेलबाट २६ अंक रहेको एस्टन भिल्ला ११औं स्थानमा छ ।