सन्दीप लामिछने सहित ६ खेलाडी दिल्ली क्यापिटल्सबाट रिलिज भए

इन्डियन प्रिमियर लिग (आइपीएल)को टिम दिल्ली क्यापिटल्सले नेपाली लेग स्पिनर सन्दीप लामिछानेसहित दुई भारतीय तथा चार विदेशी खेलाडीलाई रिलिज गरेको छ। दिल्लीले आज टिममा कायम रहेका र रिलिज भएका खेलाडीहरुको सूची सार्वजनिक गरेको छ ।

रिलिज हुनेमा दुई भारतीय खेलाडी मोहित शर्मा र तुसार देशपाण्डे रहेका छन्। त्यस्तै, चार विदेशी खेलाडी नेपालका सन्दीप लामिछाने, वेष्ट इण्डिजबाट खेल्ने किमो पल, अष्ट्रेलियाका एलेक्स क्यारी र इङ्ल्यान्डका जेसन रोयलाई पनि दिल्लीले रिलिज गरेको छ । २०२१ को आइपीएलको लागि अर्को महिना हुन लागेको अक्सन अगाडि दिल्लीले टिममा कायम रहेका र रिलिज भएका खेलाडीहरुको सूची सार्वजनिक गरेको हो । दिल्लीले यसअघिका ६ विदेशी सहित १९ खेलाडीलाई टिममा राखेको छ ।

दिल्लीले टिममा भारतीय खेलाडीहरु शिखर धवन, पृथ्वी श, अजिंक्या रहाणे, रिशभ पन्त, श्रेयस ऐयर, अक्षर पटेल, अमित मिश्र, इशान्त शर्मा, रविचन्द्रन आश्विन, ललित यादव, हर्शल पटेल, अवेश खान, प्रविण दुवेलाई टिममा निरन्तरता दिएको छ। त्यस्तै, विदेशी खेलाडीहरु कगिसो रबाडा, आनरिच नोर्किया, मार्कस स्टोइनिस र शिम्रोन हेटमायरलाई पनि दिल्लीले टिममा निरन्तरता दिएको छ ।