चर्चित उपन्यास ‘पल्पसा क्याफे’मा स्वस्तिमा खड्का पल्पसा बन्ने

काठमाडौं । लेखक नारायण वाग्लेको चर्चित उपन्यास ‘पल्पसा क्याफे’माथि नाटक बन्ने भएको छ । ‘पल्पसा क्याफे’लाई नाट्यमा रुपान्तर गरी प्रदर्शन गरिने भएको छ जसमा चर्चित अभिनेत्री स्वस्तिमा खड्का पल्पसा बन्ने भएकी छन् ।

मंगलबार अनामनगरस्थित मण्डला थिएटरमा आयोजित कार्यक्रममा स्वस्तिमाले नाटक अभिनय प्रतिको आफ्नो एक्साइटेट समेत प्रकट गरिन् । उनले भनिन् ‘पात्र पल्पसालाई न्याय गर्छु भन्ने लागेको र सोहीअनुसार तयारी समेत गरिरहेको छु ।’ नाटक गर्न पाए आफ्नो अभिनयको दायरा फराकिलो हुने सोच मनमा पलाएको समय आफुलाई ‘पल्पसा क्याफे’ अभिनय अफर आएको अभिनेत्री स्वस्तिमाले बताइन् । फिल्म अभिनयमा राम्रो जमेकी स्वस्तिमाको नाटकमा भने यो डेब्यु हो ।

पाठकले वाग्लेलाई ‘पल्पसा क्याफे’ को सिक्वेलको माग समेत गरेका छन् । कार्यक्रममा वाग्लेलाई सिक्वेलको कुरा समेत गरिएको थियो । जसमा वाग्लेले भने ‘पल्पसा क्याफे मेरो पहिलो प्रेमपत्र हो । पहिलो प्रेमपत्र जुन अनेस्टी र इनोसेन्समा लेखिन्छ । त्यो दोहोर्याएर लेख्न सकिन्न । किन कि दोस्रो कहिल्यै पहिलो हुन्न् ।’

नाटक विमल सुवेदीले निर्देशन गर्न लागेका हुन् । निर्देशक विमल सुवेदीको उद्देश्य र शैलीका बारेमा विश्वस्त भएपछि नाट्य रुपान्तरणका लागि आफुले अनुमति दिएको कार्यक्रममा वाग्लेले खुलाए । ‘मकैको अर्कै खेती’, ‘सान्दाजुको महाभारत’, ‘साबिती लगायत नाटक निर्देशन गरेका विमल सुवेदीले दुई वर्ष अघि भएको एउटा निर्देशक वर्कसपमा द्वन्द्व सम्बन्धी नाटक गरेपछि यही विषयले छोएर पल्पसालाई नाट्य रुपान्तरण गर्न कस्सिएको बताए ।

‘बिहान घरबाट निस्किएको मान्छे बेलुका फर्कन्छ भन्ने आसमा परिवार हुन्छ । तर, कति परिवार पर्खेको पर्खै हुन्छ,’ सुवेदीले भने, ‘यही फुटप्रिन्टको प्रतिक्षामा बस्ने परिवारको आँखा सम्झेर यसलाई प्रस्तुत गर्ने प्रयास गरेका छौं ।’ थिएटर भिलेजले मण्डला थिएटरसँगको सहकार्यमा निर्माण गरिरहेको नाटक आउँदो चैत वा वैशाखमा मञ्चन गर्ने तयारी छ । नाटक सातै प्रदेशमा गर्ने योजना रहेको अवगत गराए ।

उपन्यास पल्पसा क्याफे

पुस्तकको नाट्य रुपान्तरण सुरज सुवेदीले गरेका हुन् । थिएटर भिलेज र मण्डला थिएटरको संयुक्त निर्माण रहने नाटकलाई विमल सुवेदीले निर्देशन गर्दैछन् । दिलीप रानाभाट सहायक निर्देशक रहने नाटकमा पल्पसा पात्रको रुपमा प्रस्तुत हुँदैछिन् अभिनेत्री स्वस्तिमा खड्का । नाटकमा स्वस्तिमा खड्कासँगै समापिका गौतम, साजनकुमार सुनुवार, जेनी सुनुवार, दीपेश राई, बच्चु हिमान्सु, रामकृष्ण परियार, निमा शेर्पा, पूर्णिमा आचार्य, सुष्मा राई, रोशन निरौला र कपिल राईको अभिनय रहनेछ ।

कान्तिपुर दैनिकको सम्पादक रहँदा नै वाग्लेले ‘पल्पसा क्याफे’ लेखेका थिए । एक तहमा अड्किरहेको आख्यानको बजारलाई उचाइमा पुर्याउन सो उपन्यासको योगदान रहेको थियो । यो पुस्तक प्रकाशन भएकै आज १५ वर्ष नाघिसकेको छ । पुस्तकले देशको तत्कालिन द्वन्द्वको विषय समेट्छ ।