गुजरात दुर्घटनामा मृत्यु हुनेकाे संख्या १५ पुग्याे, प्रधानमन्त्री मोदीद्वारा राहतको घोषणा
नयाँदिल्ली, ६ माघ । भारतको गुजरात राज्य अन्तर्गत पर्ने सुरतको कासाम्बा क्षेत्रमा भएको ट्रक दुर्घटनामा परी मृत्यु हुनेकाे संख्या १५ पुगेको छ । दुर्घटनामा मृत्यु भएकाको परिवारलाई २ लाख भारतीय रुपैयाँको दरले राहत दिने प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा समेत गर्नुभएको छ ।
मृतकप्रति श्रद्धान्जलि व्यक्त गर्दै उहाँले शोक सन्तप्त परिवारजनप्रति सहानुभूति समेत व्यक्त गर्नुभएको छ । मृतकका आफन्तलाई प्रधानमन्त्री राष्ट्रिय सहायता कोषबाट सो रकम दिइने भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
“सुरतमा भएको दुर्घटनामा परी मानवीय क्षति भएकोमा मलाई अत्यन्त दुःख लागेको छ, यो घटना ज्यादै पीडादायी छ, शोकाकुल परिवारजनप्रति सहानुभूति व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु,” प्रधानमन्त्री मोदीले ट्वीटरमा लेख्नु भएको छ ।
उहाँले घाइते भएकाहरुलाई पनि ५० हजार भारतीय रुपैयाँका दरले राहत रकम उपलब्ध गराइने अर्को ट्वीट मार्फत् जानकारी दिनुभएको छ ।
सुरतको कोसम्बामा सोमबार राति एउटा ट्रकले ठक्कर दिँदा मृत्यु भएका १५ जना मध्ये सात जना महिला, सात जना पुरुष र एक जना १ वर्षीय शिशु रहेको अधिकारीहरुले जनाएका छन् । घाइते भएका ६ जनाको अस्पतालमा उपचार भइरहेको स्थानीय प्रहरीको भनाई छ ।
दुर्घटना सोमबार राती भएको हो । भारतीय मिडिया दैनिक भास्करका अनुसार १२ जनाको घटनास्थलमा नै मृत्यु भएको हो जबकि ८ जनाको स्थिती गम्भीर छ । उपचारको क्रममा अर्का एक जनाको मृत्यु भएको छ । प्रहरीले ट्रक ड्राइभर र क्लिनरलाई पक्राउ गरेको छ ।
भास्करका अनुसार दुर्घटनाका बेला ६ महिनाकी बालिका पनि आमा–बुवासँग सुतिरहेकी थिइन् । दुर्घटनापछि उनी शवको बीचमा थिइन् । प्रहरीले उनलाई तत्काल अस्पताल पुर्याएको छ ।
स्रोतका अनुसार मृतकमध्ये एक राकेश रुपचन्द दुर्घटना स्थलभन्दा केही पर एक पसलमा काम गर्दथे । उनी हरेक दिन पसल नजिकैको एक क्याबिनमा सुत्दथे तर सोमबार उनी क्याबिनमा सुत्नुको साटो मजदुरसँग फुटपाथमा सुतेका थिए र ट्रक दुर्घटनाका कारण उनको मृत्यु भयो । ट्रकको ठक्कर ४–५ वटा पसलमा पनि क्षती पुगेको छ ।
प्रहरीका अनुसार ट्रक उखु भरिएको ट्र्याक्टरसँग ठोक्किएको हो । त्यसपछि ट्रकका ड्राइभरले नियन्त्रण गुमाएको र ट्रक फुटपाथमा चढेको हो ।