लेस्टर प्रिमियर लिगको दोस्रो स्थानमा, चेल्सीको भने कठिन जित

साउथह्याम्पटनलाई पराजित गर्दै लेस्टर सिटी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा लेस्टरले साउथह्याम्पटनलाई २-० ले पराजित गरेको हो । लेस्टरका लागि खेलको ३७औं मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै अग्रता दिलाएका थिए । इन्जुरी टाइममा हार्भे बार्न्सले गोल गरेपछि लेस्टरले २-० को जित हात पारेको हो ।

जितपछि १८ खेलबाट ३५ अंक जोड्दै लेस्टर दोस्रो स्थानमा उक्लेको हो । एक खेल कम खेलेको म्यानचेष्टर युनाइटेड ३६ अंकसहित शीर्ष स्थानमा छ । यस्तै ३३ अंकसहित लिभरपुल तेस्रो स्थानमा छ । आज युनाइटेड र लिभरपुलबीच प्रतिस्पर्धा हुँदैछ । १८ खेलबाट २९ अंकसहित साउथह्याम्पटन भने आठौं स्थानमा छ ।

यस्तै लिगकै अर्को खेलमा चेल्सी १० खेलाडीमा समेटिएको फुलहममाथि १-० को कडिन जित निकालेको छ । एन्टोनी रोबिनस ४४औं मिनेटमै रातो कार्ड पाउ मैदान बाहिरिएपछि फुलहम घरेलु मैदानमा १० खेलाडीमा झरेको थियो । त्यसपछि दोस्रो हाफमा चेल्सीले एक गोल गर्‍यो । ७८औं मिनेटमा मासोन माउन्टले चेल्सीका लागि निर्णायक गोल गरे । जितपछि १८ खेलबाट २९ अंक जोड्दै चेल्सी सातौं स्थानमा उक्लिएको छ । समान अंक भएपनि चेल्सीले साउथह्याम्पटन र वेष्टह्यामलाई गोलअन्तरमा पछि पारेको हो ।

त्यस्तै वेष्टह्याम बर्नलीलाई १-० ले पराजित गर्दै १०औं स्थानमा उक्लिएको हो । उता १७ खेलबाट १२ अंक मात्र रहेको फुलहम भने रेलिगेसन जोन अथात १८औं स्थानमै छ । लिगको अनय खेलमा वेष्टब्रोमले वल्भ्सलाई ३-२ ले तथा ब्राइटनले लिड्सलाई १-० ले पराजित गरेको छ ।