भारतीय किसानहरुको मागलाई लिएर अन्ना हजारेले फेरि भोक हड्ताल गर्ने चेतावनी
दिल्ली । भारतका सामाजिक कार्यकर्ता तथा भ्रष्टाचार विरोधी अभियन्ता अन्ना हजारेले फेरि भोक हड्ताल गर्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिठ्ठी लेख्दै उनले किसानहरुका मागहरु पूरा नभए भोक हड्ताल गर्ने चेतावनी दिएका हुन् । मोदीलाई पठाइएको पत्रमा हजारेले अहिलेसम्म पाँच पटक प्रधानमन्त्रीलाई चिठ्ठी लेखेको तर एक पटक पनि त्यसको जवाफ प्राप्त नभएको उल्लेख गरेका छन् ।
‘सरकारले न त चिठ्ठीको जवाफ दियो न त किसानहरुका माग पूरा गर्न चासो देखायो’, हजारले भनेका छन्, ‘त्यसैले फेरि भोक हड्ताल गर्ने निर्णयमा पुगेको छु। ’ सरकारको उदासिनताकाविरुद्ध आफूले जनवरीको अन्त्यतिर दिल्लीको रामलीला मैदानमा भोक हड्ताल गर्ने उनले बताएका छन् । उनले यो आफ्नो अन्तिम भोक हड्ताल होस् भन्ने कामनासमेत गरेका छन्।
यसअघि उनले सन् २०१८ र २०११ मा दिल्लीमा लोकपाल विधेयक माग गर्दै भोक हड्ताल गरेका थिए ।