एनसेल बाह्रखरी गल्फ आगामी माघ २३ देखि पोखरामा

पर्यटन क्षेत्रमा योगदान पुर्‍याउने उध्देश्यले नियमित सञ्चालन हुँदै आएको ‘आमन्त्रण गल्फ प्रतियोगिता’ को चौथो संस्करण यस वर्ष पोखरामा एनसेलसँगको विशेष सहकार्यमा माघ २३ देखि २५ गतेसम्म सन्चालन हुने भएको छ । यस सम्बन्धमा पत्रकार सम्मेलन गरी बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले पोखराको पर्यटन प्रवर्द्धनका लागि यस वर्ष पोखरामा प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनुभयो । कोरोनाले संसारभरकै पर्यटन क्षेत्र आक्रान्त पारेको अवस्थामा नेपालको पर्यटन क्षेत्र अछुतो नरहेको र पर्यटकीय राजधानी पोखराको पर्यटनमा नवीन ऊर्जा सञ्चार गराउनसके यसले उत्साहपूर्ण र सकारात्मक गति दिने विश्वाससाथ यो वर्ष पोखरालाई केन्द्रविन्दु बनाइएको प्रधानले बताउनुभयो ।

पोखरामा हुने यस प्रतियोगितामा काठमाडौं, पोखरा, विराटनगर, वीरगञ्ज, चितवन, भैरहवा, नेपालगञ्ज र धनगढीका कर्पोरेट लिडर तथा गल्फ खेलाडीलाई प्रतिस्पर्धा गराउनुका अतिरिक्त उल्लेखित सहरबाट विशेष पाहुनालाई निमन्त्रणा गरिने छ । खेलाडी र विशेष पाहुनालाई माघ २३ देखि २५ सम्म पोखराका विभिन्न स्थान भ्रमण गराउने र साहसिक खेलमा सहभागी गराउने कार्यक्रम छ । साथै पोखरामा आन्तरिक पर्यटन र पर्यटनको पुनरुत्थानप्रति विशेष जागरुकता फैलाउने उद्देश्यले माघ २३ गते शुक्रबार साइकल र्‍याली गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । पोखराको हलनचोकदेखि हिमालयन गल्फ कोर्स विजयपुर मझेरीपाटनसम्म साइकल र्‍याली हुनेछ । गल्फ प्रतियोगिता हिमालयन गल्फ कोर्समा फेब्रुअरी ६ तारिख अर्थात माघ २४ गते हुनेछ जहाँ ७२ जना कर्पोरेट गल्फरले १८ होलमा स्टेबल फोर्ड फर्म्याटमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताका अल–राउण्ड विजयीले सुनको गल्फ बल अर्थात् बाह्रखरी गोल्डेन बल पुरस्कार स्वरुप पाउनेछन् । साथै अन्य विजयीले ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै होल इन वन गर्ने खेलाडीलाई हुन्डाइ ग्रान्ड आइटेन नियोस उपहार राखिएको बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यले जानकारी दिए ।

एनसेल प्रमुख प्रायोजक रहेको गल्फ प्रतियोगितामा गल्फ खेलाडीसहित करिब दुई सय पाहुना सम्मिलित हुनेछन् । पोखराका प्रतिष्ठित उद्यमी, व्यवसायी तथा गण्यमान्य गरी करिब तीन सय पाहुना गल्फको पुरस्कार वितरण समारोहमा विशेष आमन्त्रित हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

गल्फरबाहेकका पाहुनाका लागि अल्ट्रालाइट, प्याराग्लाइडिङ, जीप फ्लाइङ, बन्जी जम्पिङ्, र्‍याफ्टिङ, क्यानोनिङ र डुंगा सयरको व्यवस्था गछ। प्रतियोगितामा उपस्थित पाहुनाका लागि १६ वटाभन्दा बढी होटलमा बस्ने व्यवस्था छ भने रेष्टुरेन्ट एवम् बार एशोसिएसन पोखरासँग आवद्ध २५ बढी रेष्टुरेन्टमा बाह्रखरीका पाहुनाका लागि तीन दिन २३, २४ र २५ गते स्पेशल छुट व्यवस्था हुनेछ । साथै पोखरा आइपुगेका पाहुनाले आफ्नै खर्चमा यस क्षेत्रको मनोरम दृष्य अवलोकन गर्न चाहेमा कैलाश हेलिकप्टर्स, अल्टिच्युड हेलिकप्टर्स तथा प्रभु हेलिकप्टर्सले विशेष छुटमा पोखरा र यस वरिपरिका हिमालको दृश्यावलोकन गराउनेछन् ।

एनसेल प्रमुख प्रायोजक रहेको बाह्रखरी गल्फको यो प्रतियोगितामा नेपाल टुरिजम बोर्ड, गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिकाको पनि सहकार्य छ। अन्य प्रायोजकमा डिसहोम, भाटभटेनी सुपरमार्केटस्, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, कार्ल्सवर्ग, सिभास रिगल, हुन्डाइ मोटर्स, र आइएमइ छन् । बाह्रखरी मिडिया हाउसले अघिल्लो वर्ष सगरमाथा क्षेत्रमा गल्फ खेल आयोजना गरेको थियो ।