म्यानचेस्टर युनाइटेड प्रिमियर लिगको शीर्ष स्थानमा

म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा वर्नलीमाथि १-० गोलको जित निकाल्दै युनाइटेड शीर्ष स्थानमा उक्लिएको हो ।

युनाइटेडको जितमा पाउल पोग्बाले गरेको गोल निर्णायक बन्यो । पोग्बाले खेलको ७१ मिनेटमा मार्कस रास्फोडले पासमा गोल गरेका थिए । खेलमा वर्नलीले एक पनि प्रहार पोस्टमा गर्न सकेन ।

यता एभर्टनले वुल्भ्समाथि २-१ को जित निकालेको छ। सेफिल्ड युनाइटेडले न्युकासललाई १-० ले पराजित गर्‍यो । लिगको अंक तालिकाको शीर्ष स्थानमा पुगेको म्यानचेस्टर युनाइटेडले १७ खेलबाट ३६ अंक जोडेको छ । दोस्रो स्थानको लिभरपुलको समान खेलबाट ३३ अंक छ । तेस्रो स्थानको लेस्टर र चौथो स्थानको एभर्टनको समान ३२-३२ अंक छ ।

पाँचौ स्थानको टोटेनहम, छैटौं स्थानको म्यानचेस्टर सिटी र सातौं स्थानको साउथह्याम्टनले समान २९-२९ अंक जोडेका छन् । टोटेनहमले १६ र म्यानचेस्टर सिटीले १५ खेल खेलेका छन् ।