जनसंख्या र भूगोलमा भारत ठुलो भएता पनि सार्वभौमिकताको आधारमा नेपाल र भारत सम्मान: प्रधानमन्त्री ओली

काठमाडौं । भारतीय टेलिभिजन च्यानल जी न्युजका प्रधानसम्पादक सुधीर चौधरीसँग अन्तर्बाताको क्रममा प्रधानमन्त्री ओलीले भौगोलिक र जनसंख्याको आधारमा भारत नेपाल भन्दा ठुलो भएता पनि सार्बभौमाको हिसाबले नेपाल भारत जत्तिकै बाराबर राष्ट्र हो भनेका छन । जी न्युजको प्रधान सम्पादक चौधरीसहित तीन जनाको टोली आज बालुवाटार पुगेर प्रधानमन्त्री ओलीको अन्तर्वार्ता लिएका हुन् । अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले दुई छिमेकी मुलुक भारत र चीनमा शान्ति कायम भए नेपाल पनि सुरक्षित हुने बताउनुभएको छ । उहाँले अन्तर्वार्ताका क्रममा दुई छिमेकीबीच राम्रो सम्बन्ध भएको नेपालले चाहेको बताउनुभयो । ओलीले व्यक्तिगत रुपमा भारतीय प्रधानमन्त्री आफूभन्दा केही वर्ष जेठो भएपनि प्रधानमन्त्रीको हैसियतमा बस्दा ठूलो देश र सानो देशको नभइ समान हैसियत हुने बताउनुभएको छ ।

प्रधानमन्त्रीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमी भएको स्पष्ट पार्दै वार्ताका माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाल कुनै पनि देशको साथमा लागेर अर्को देशविरुद्ध आफ्नो जमिन वा आकास प्रयोग गर्न नदिने बताउनुभयो । उहाले भारत र चीन दुवै देशले चाहेमा आफू मध्यस्थता गर्न तयार रहेको बताउनुभएको छ । उहाँले दुवै नेपालका छिमेकी भएकाले कोहीसँग पनि ‘कार्ड’ नखेल्ने बताउनुभयो। उहाँले आफू भारतीय प्रधानमन्त्री नरेन्द्र मोेदी र चिनियाँ राष्ट्रपति सी जिनपिङकाको साथी भएको बताउनुभयो ।

चौधरीसहित तीन जनाको टोली हिजो शनिबार नेपाल आएका थिए । चार घण्टा अगाडि सुधीरले आफ्नो सामाजिक संजाल ट्वीटरमा के नेपाल चिनियाँ पक्षमा खेल खेल्दैछ ? आज राति ९ बजे भनेर ट्वीट गरेका थिए । प्रधानमन्त्री ओलीसंग लिएको अन्तर्वार्तापछि सुधीरले फेसबुकमार्फत नेपालको प्रधानमन्त्री केपी शर्मा ओलीसंग सकरात्मक कुराकानी भएको भन्दै भारतलाई नेपालले ठूलो दाइको रुपमा व्यवहार गर्न नचाहेकोबारेमा पनि थाहा भएको बताएका छन् । यस्तै उनले छिमेकमा के भइरहेको छ भन्ने थाहा पाउन पनि आवश्यक रहेको जनाए ।

यसअघि भारतीय टेलिभिजन च्यानल जी न्युजलगायतले नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि यसबारे नराम्रो टिकाटिपनी गरेको थियो । सुधीरले जी न्युजमा ‘राष्ट्रवाद के नामपर नेपालकी चाइनिज नक्सेबाजी’ भनेर कार्यक्रम चलाएका थिए ।