पाइलटलाई ‘ककपिट’मा फोटो खिच्न प्रतिबन्ध
पछील्लो समयमा पाइलटहरुले ककपिटमा फोटो खिच्ने देखी प्रतक्ष्य भिडियोहरु समेत बनाइ समाजिक सन्जालहरुमा पोस्ट गरेको देखिएकोले नियमगन संस्था नेपाल नागरिक उड्ड्यन प्राधिकरणले पाइलटहरुलाई जहाजको ‘ककपिट’भित्र फोटो तथा भिडिओ खिच्न प्रतिबन्ध लगाएको छ । नेपालको हवाइ सेवाको नियमक निकाय प्राधिकरणले ‘सेफ्टी रेगुलेसनमा संसोधन गर्दै पाइलट तथा उडान दलका सदस्यहरुलाई फोटो भिडिओ खिच्न रोक लगाएको हो । उडान दलका सदस्यहरुको आकर्षण यात्रुको सेवा तथा जहाज उडानमा भन्दा फोटो भिडिओ खिचेर सामाजिक सञ्जालमा हाल्नमा रुची देखिएपछि नियम बनाइएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए।
‘पाइलटको काम जहाज उडाउने हो। कम्तिमा उडान अवधिभर उसले निश्चित अनुशासनमा बस्नुपर्छ। उसको ध्यान सुरक्षित उडानमै हुनुपर्छ। तर पछिल्लो समय एयरपोर्टबाटै लाइभ गर्नेसम्मका काम भए। यसले सुरक्षामा असर गर्छ त्यसैले हामीले नियम बनाएर लागू गरेका छौं’ उनले भने ।
यसअघि पनि प्राधिकरणको उड्डयन सुरक्षा हेर्ने महाशाखाले पाइलटहरुलाई फोटो तथा भिडिओ खिच्न नमिल्ने नियम बनाउन सम्बन्धित एयरलाइन्सहरुलाई निर्देशन दिएको थियो। तर त्यसपछि पनि पाइलटहरुले ककपिटमा फोटो र भिडिओ खिच्ने क्रम नरोकिएपछि नियम बनाउनुपरेको पोखरेलको भनाइ छ । विश्वव्यापी रुपमा यस्ता नियमहरु भएको र सोहीअनुसार नेपालमा पनि नियम बनाइएको उनको भनाइ छ ।
नयाँ नियमअनुसार अबदेखि उडान दलका सदस्यहरुले फोटो वा भिडिओ खिच्नुपरेमा प्राधिकरणका महानिर्देशकबाट अनुमति लिनुपर्छ। त्यसरी अनुमति लिंदा कति उचाइ वा कस्तो अवस्थामा खिच्न पाइने भन्ने निर्क्यौल हुने छ । ‘अमेरिका लगायतका कडा हवाइ सुरक्षा भएका देशमा निश्चित अवस्थामा फोटो वा भिडिओ लिन नपाइने नियम छ। अहिले हामीले पूर्ण रोक लगाएका छौं तर अनुमति दिनुपर्दा अवस्था खुलाएरमात्र दिन्छौं । जस्तो टेकअफ, ल्यान्डिङ वा निश्चित उचाइदेखि माथिमात्र खिच्न पाइने बनाउछौं’,पोखरेलले भने ।