लमजुङ जिल्ला प्रशासन कार्यलयमा पालिका स्तम्भ निर्माण सम्पन्न
जिल्ला प्रशासन कार्यालय लमजुङको परिसरमा पालिका स्तम्भ पार्क निर्माण गरिएको छ । जिल्ला प्रशासन कार्यालयलाई सेवाग्राहीमैत्री, प्रविधिमैत्री बनाउने अवधारणाका साथ लागि परेको प्रशासनले कार्यलय परिसरमा पालिका स्तम्भ पार्क निर्माण गरेको हो । मध्यनेपाल नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको पालिका स्तम्भ पार्कको बिहीबार एक कार्यक्रममाबीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभयो । प्रविधिमैत्री समयमा प्रविधिलाई उच्चतम प्रयोग गरेर नौलो काम गरेकोमा मुख्यमन्त्री गुरुङले प्रशासन परिवारलाई धन्यावाद दिनुभयो ।
उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले नागरिकले सुसूचित हुन पाउने, आफनो समस्या सुनाउन पाउने, आफ्नो माग राख्न पाउने अधिकारसंग संघीयता जोडिएको बताउनुभयो । ‘संघीयताका कारण सरकार जनताको नजिक छ । जनताले नजिकबाट सेवा पाएका छन्’ उहाँले भन्नुभयो, ‘संघीयता नहुँदो हो त अहिले केन्द्रमा सरकारबीच खटपट भए वा सरकार यताउता भए जनताले झनै दुःख पाउँथे । अहिले आफ्नो सरकार आफ्नै घरआँगनमा छ । यो संघीयताले ल्याएको हो ।’ संघीयता खर्चिलो भयो भन्नेले संघीयताको मर्म र फाइदा नबुझेको उहाँले टिप्पणी गर्नुभयो । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई संघीय संरचनाबारे जानकारी गराउन पालिका स्तम्भ पार्क निर्माण गरिएको बताउनुभयो । उहाँले संघीय नेपाल, गण्डकी प्रदेश र स्थानीय तहकै मार्बल नक्सार बनाएर राखिएको बताउनुभयो । पालिका स्तम्भ पार्कमा संघीय संरचना अनुसार ७७ वटै जिल्लाको नाम स्पष्ट देखिने गरी आधुनिक नेपालको नयाँ नक्सा, गण्डकी प्रदेशको नक्सा, लमजुङ जिल्लाको नक्सा सहित जिल्लाका ८ वटै पालिकाको नक्सा निर्माण गरेर राखिएको छ । यसका लागि ७ लाख रुपैयाँ खर्च भएको उहाँले बताउनुभयो ।
पार्कमा राष्ट्रिय गान र नेपालको झण्डा सहितको पृष्ठभूमि तयार पारिएको छ । पालिका स्तम्भ पार्क अवलोकनबाट जिल्ला प्रशासन कार्यालय सेवा लिन आउने सेवाग्राहीले लमजुङ जिल्लाको समग्र बस्तुस्थितिको बारेमा जानकारी लिन सक्ने सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय लमजुङले कार्यलयलाई प्रविधिमैत्री, सेवाग्राहीमैत्री बनाउँदै लैजानका लागि जिल्लामा रहेका पालिकासंग समन्वयमा काम गर्दै आइरहेको छ । पछिल्लो समय प्रशासन कार्यालय प्रविधिमैत्री र सूचनामैत्री बनेसंगै नागरिकले सहजताको अनुभूति गर्न पाएको अर्का सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले बताउनुभयो ।