बागलुङमा नेपाल पत्रकार महासंघ बागलुङले सुचना केन्द्र निर्माण
बागलुङ, १९ पुस । व्यवसायिक पत्रकारितालाई थप मजबुद बनाउन र एकै ठाउँबाट सबै सूचना दिने उदेश्यले नेपाल पत्रकार महासंघ बागलुङले आधुनिक सुचना केन्द्र स्थापना गरेको छ । कुल १० लाख रुपैँयाको लागतमा निर्माण थालिएको सूचना केन्द्रमा एकैपटक १० जना पत्रकारहरु बसेर काम गर्न सक्नेछन् । नेपाल पत्रकार महासंघ बागलुङका अनुसार बाहिरबाट आउने आगन्तुक पाहुना, पर्यटकलाई जिल्लाभरको सुचना एकै ठाउँबाट दिने उद्देश्यका साथ आधुनिक सुचना केन्द्रको योजना बनेको हो ।
सुचना केन्द्रमा पत्रकारहरुले समाचार लेखेर आफ्ना सञ्चार माध्यममा पठाउन पाउनेछन् भने आम नागरिकहरुले पनि सूचना लिन पाउने व्यवस्था समेत गरिएको छ । जिल्ला स्थित विभिन्न सञ्चारमाध्यममा समय समयमा आउने इन्टरनेट, ब्याट्री लगायतका प्राविधिक समस्याको समाधानका लागि पनि महासंघले निर्माण गरेको सुचना केन्द्रले पत्रकारहरुलाई समाचार सम्प्रेशणमा सहयोग मिल्ने पत्रकारहरु बताउछन् । कुनै बेला इन्टरनेट नचल्दा अथवा विद्युत नभएको बेलामा सञ्चार माध्यममा रोकिने कामहरु केन्द्रबाटै सहज रुपमा गर्न सकिने पत्रकारहरुको अपेक्षा छ ।
महासंघको भवन निर्माण अभियान संगै सुचना केन्द्र स्थापना गर्ने लक्ष्य राखिएकोमा अहिले केन्द्रमा १० वटा कम्प्युटर जडान गरिसकिएको छ । प्रभु बैँकको सहकार्यमा निर्माण गरिएको सूचना केन्द्रलाई थप व्यवस्थित बनाउदैँ लैजाने महासंघको योजना छ । प्रभु बैँकका प्रमुख अशोक शेरचनले जिल्लामा स्थापना भएको सुचना केन्द्रले ग्रामिण भेगलाई समेट्न नसक्ने भएकाले अबको लक्ष्य गाउँ लक्षित हुनुपर्ने बताउनुभयो । अहिले जिल्लामा रहेका प्रत्येक स्थानीय तहमा पनि सूचना केन्द्र स्थापना गर्नुपर्ने शेरचनले बताउनुभयो ।
पछिल्लो समय डिजिटल पत्रकारिताको अभ्यास पनि बढ्दै गएको समयमा महासंघबाट यस खालको योजना बनाइएको बताइएको छ । प्रविधिमैत्री पत्रकारिताको विकास लागि प्रत्येक पत्रकार प्रविधिमा सक्षम हुनुपर्ने भन्दै छिटो, छरितो एवं सत्य तथ्य समाचार सम्प्रेशणमा सुचना केन्द्रले सहयोग गर्ने विश्वास लिएको नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीषको भनाई रहेको छ ।
महासंघकै भवनमा निर्माण भएको आधुनिक सूचना केन्द्रको आइतबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको थियो ।