बर्दिया राष्ट्रिय निकुञ्जमा पाटे बाघले झम्टेर लगेको महिला अझै फेला परेन
बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट मोटरसाइकलमा सवार एक महिलालाई बाघले झम्टेर लगेको छ। कैलाली जिल्लाको लम्किचुहा नगरपालिका वडा नं. ४ कौवापुर की ५० बर्षीया नन्दकली थापालाई बाघले मोटरसाइकलबाटै झम्टेर लगेको थियो । ती महिलाको अवस्था अझैपनी अज्ञात छ र हातीको प्रायोग गरेरा निकुन्ज कर्मचारीहरुले महिलाको खोजी गरिरहेका छन ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र खड्काका अनुसार मोटरसाइकलमा उक्त महिलाको २२ वर्षीय छोरा सन्तोष थापा र उनी सवार थिए । ‘सन्तोषका अनुसार मोटरसाइकल अलि स्लो भएको थियो ,’ डिएसपी खड्काले भने, ‘त्यही बीचमा बाघले उहाँकी आमालाई झम्टिएर मोटरसाइकलबाटै घिसालेर लगेर गयो, कराउँदा कराउँदा पनि छोडेन।’
बाघले मोटरसाइकलबाट आमालाई लगेपछि सन्तोषले निकुञ्जका सुरक्षाकर्मीलाई खबर गरेको थियो । सन्तोषलाई भने सामान्य चोट लागेको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत शुक्रबार राति १० बजेतिर पूर्वबाट पश्चिम भुरीगाउँबाट चिसापानीतर्फ जाँदै गरेको सु.प.प १००८ प. ६८०१ नम्बरको मोटरसाइकलको पछाडि थापा सवार थिइन् । घटनास्थल पूर्वपश्चिम राजमार्ग अन्तर्गत निकुञ्जभित्र पर्ने नेपाली सेनाको अम्रेनी चेक पोष्टभन्दा करिब ५-६ किलोमिटर पश्चिममा रहेको जिल्ला प्रहरी प्रवक्ता खड्काले जानकारी दिए ।
बाघले मोटरसाइकलबाटै मानिस बेपत्ता पारेपछि खोजीका लागि नेपाली सेनाको टोली, नेपाल प्रहरीको टोली र निकुञ्जको टोली खोजीमा खटिएको भए पनि कल्पनी थापालाई फेला पार्न नसकिएको डिएसपी खड्काले बताए ।