यमनको बिमानस्थल नजिकै बम बिष्फोट २२ जनाको मृत्यु
एजेन्सी । यमनको नयाँ मन्त्रिमण्डलका सदस्य चढेको विमानलाई लक्ष्य गरी गराइएको विस्फोटमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी घाइते भएका छन् । बिबिसीका अनुसार प्रधानमन्त्रीसहित यमनको नयाँ सरकारका सदस्यलाई छिमेकी मुलुक साउदी अरबबाट लिएर आएको विमान अबतरण हुनेबित्तिकै विस्फोट गराइएको हो । यमनको दक्षिणी सहर अदनस्थित विमानस्थलमा बुधबार गराइएको विस्फोटमा परी कम्तीमा २२ जनाको मृत्यु तथा ५० जनाभन्दा बढी मानिस घाइते भएका हुन् ।
तर आफू र मन्त्रीमण्डलका सदस्य सकुशल रहेको यमनका प्रधानमन्त्री मीन अब्दुल मलिक सइदले दाबी गरेका छन्। विस्फोटमा मृत्यु भएका अधिकतर सहायक कर्मचारी र अधिकारी रहेको बताइएको छ । नयाँ मन्त्रीहरूको स्वागतका लागि विमानस्थलमा मानिसको भीड भइरहेका बेला विस्फोट भएको थियो । त्यसपछि मानिसको भागाभाग भएको थियो । विस्फोट कसले किन गरायो खुल्न बाँकी छ । यमनमा सन् २०१५ देखि गृहयुद्ध जारी छ । जसमा परी अहिलेसम्म १ लाख १० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।